सुपरिचित हेयर डिजाइनर नील डेभिडको सेलुन अनि एकाडेमी अब मालबजारमा

सुपरिचित हेयर डिजाइनर नील डेभिडको सेलुन अनि एकाडेमी मालबजारमा  उद्घाटन गर्दै मुख्य अतिथि अधिवक्ता एवं सिलगढी बार एसोसिएसनका उपाध्यक्ष दिपक शर्मा,  हिमालय दर्पणका सम्पादक शिबु छेत्री अनि नील डेभिड l फोटो पवन थापा

मालबजार: सोमबार डुवर्सको भूमिका प्रथमपल्ट सुपरिचित हेयर डिजाइनर नील डेभिडको सेलुन अनि एकाडेमी उद्घाटन गरियो। मालबजारस्थित क्याल्टेक्स मोडमा नील डेभिडको उक्त सेलुन खोलिएको छ। सोमाबर उक्त सेलुन उद्घाटन मुख्य अतिथि अधिवक्ता एवं सिलगढी बार एसोसिएसनका उपाध्यक्ष दिपक शर्मा अनि हिमालय दर्पणका सम्पादक शिबु छेत्रीको बाहुलीबाट गरियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय दर्पणका सम्पादक शिबु छेत्रीले भने, ‘आफ्नो अथक परिश्रमको फलस्वरुप नील डेभिडको नाम छ। उनी कामलाई माया गर्ने व्यक्ति हुन्। काम कुनै सानो ठुलो हुँदैन। हाम्रो समाजमा कपाल काट्ने पेशालाई हेयको दृष्टिले हेरिन्छ। तर उनले यसलाई आफ्नो पेशा बनाएर आज सुनाम कमाएको छ साथै हजारौँ युवा-युवतीहरूलाई रोजगार प्रदान गरेका छन्। नील डेभिडले वर्तमान समयमा धेरै बेरोजगार युवा-युवतीहरूलाई प्रशिक्षण दिएर रोजगार प्रदान गर्दै स्वनिर्भर बनाइरहेको छl’

उद्घाटन कार्यक्रममा नील डेभिड एवं हिमालय दर्पणका सम्पादक शिबु छेत्री l फोटो पवन थापा

कार्यक्रमका मुख्य अतिथि अधिवक्ता दिपक शर्माले भने, ‘नील डेभिडले वर्तमान समयमा धेरै युवा-युवतीहरूलाई प्रशिक्षण दिएर स्वनिर्भर बन्ने अवसर प्रदान गरिरहेको छl’ कार्यक्रममा नील डेभिडको परिवारका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। हेर डिजाइनर नील डेभिड (निलेन्द्र कटुवाल)ले भने, ‘डुवर्ससित मेरो आत्मियताको सम्बन्ध रहेको छ। आज हामीले सानो मोड़ल एकाडमी खोलेका छौँ। आउँदो दिनमा ठूलो एकाडेमीका साथमा आउनेछौँ। अहिलेसम्म नेपाल र भारतमा हाम्रो शाखाहरू रहेको छ। मालबजारको शाखा लगाएर ८२ वटा शाखा रहेको छl’ मालबजारको शाखाबाट वर्षमा १२ देखि १५ जना गरिब इच्छुक विद्यार्थीहरूलाई नि:शुल्क प्रशिक्षण प्रदान गरिने उनले घोषणा गरे। कार्यक्रममा नील डेभिडकी श्रीमती सुष्मा कटुवाल, दिदी शोभा छेत्री आदिको उपस्थिति रहेको थियो।

सुपरिचित हेयर डिजाइनर नील डेभिड l फोटो पवन थापा
फोटो: पवन थापा

About Author

Advertisement