सामसङ तामाङ विरुद्ध कानुनी कारबाही तीव्र गर्न क्यापद्वारा आह्वान

n6511774571739040773374cb88feea408f9e7a391c7165a9dd99a6ef917863b3daf7966b73b10d76c159af

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्कमको एक महत्वपूर्ण बैठक आज पाकिम जिल्ला अध्यक्ष गजेन्द्र राईको अगुवाईमा र​म्फूस्थित सर्कल कार्यालयमा सम्पन्न भयो। बैठकमा सामसङ तामाङको बयानको भत्सर्ना र तामाङ विरुद्ध कानुनी कारबाहीको माग लगायत अन्य विषयहरूमाथि चर्चा गर्दै प्रस्ताव ग्रहण गरिएको विज्ञप्तिमा उल्लेख छ।
क्यापले खस समुदायमाथि हालैमा सामसङ तामाङले गरेको आपत्तिजनक टिप्पणीहरूको भत्सर्ना जनाएको छ। यस्तो विभाजनकारी बयानबाजीले राज्यको सामाजिक संरचनालाई कमजोर बनाउँछ भन्दै क्यापले यसलाई पूर्णरूपमा अस्वीकार्य बताएको छ।
क्यापले तामाङ विरुद्ध विभिन्न पुलिस थानाहरूमा शिकायत दर्ता गरिएको भए तापनि कारबाहीमा भइरहेको ढिलाईप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। क्यापले अधिकारीहरूलाई तुरुन्तै अनुसन्धानलाई तीव्र बनाउन तथा न्याय एवं साम्प्रदायिक सद्भाव कायम राख्न उपयुक्त कानुनी कारबाही शुरु गर्न आह्वान गरेको छ।
साथै यस बैठकमा क्यापले आफ्नो संगठन विस्तार लगायत अन्य विषयहरूमाथि छलफल गरेको विज्ञप्तिमा जनाइएको छ।

About Author

Advertisement