अमेरिकाको पश्चिमी अलास्काको नोमतर्फ जाँदै गरेको एक सानो यात्रुवाहक विमान दुर्घटना भएको छ । विमान शुक्रबार समुन्द्री बरफमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । विमानमा ९ जना यात्रु र एक पाइलट थिए । उडेको एक घण्टा नबित्दै विमानस्थलका अधिकारीहरूसँग विमानको सम्पर्क विच्छेद भएको थियो। अमेरिकी तटरक्षक दलका प्रवक्ता माइक सालेर्नोले उद्धारकर्ताहरूले विमानको अन्तिम ज्ञात स्थान नजिकै हेलिकप्टरबाट खोजी गर्दा विमानको भग्नावशेष फेला पारेको जानकारी दिएका छने। यो दुर्घटना अमेरिकामा हालैका दिनहरूमा भएका उड्डयन दुर्घटनाहरूको शृंखलाको निरन्तरता हो। जनवरी २९ मा अमेरिकाको राजधानी नजिकै एक व्यावसायिक विमान र सेनाको हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो। त्यसपछि जनवरी ३१ मा फिलाडेल्फियामा एक चिकित्सा यातायात विमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो।











