असमले गुवाहाटी नजिकै जापानी औद्योगिक केन्द्र स्थापना गर्ने बनायो योजना

00-1-Assam-1

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले बिहीबार असमको राजधानी गुवाहाटी नजिकै एक जापानी औद्योगिक शहर स्थापना गर्ने इच्छा व्यक्त गरेका छन्, जसको उद्देश्य राज्यमा औद्योगिक विकासलाई प्रवर्द्धन गर्नु हो। गुवाहाटीमा आयोजित पाँचौं भारत-जापान बौद्धिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरमाले भने, “जापान हाम्रो देशको एक प्रमुख साझेदार रहँदै आएको छ, र हामी असममा यस साझेदारीलाई अझ बलियो बनाउने चाहना राख्छौं, किनकि हामी औद्योगिक विकासलाई तीव्रता दिन काम गरिरहेका छौं।” दुई दिने सम्मेलनको आयोजना शिलाङस्थित थिंक ट्याङ्क, एसियन कन्फ्लुएन्सले जापानी दूतावास र भारतको विदेश मन्त्रालयको सहकार्यमा गरेको हो।

मुख्यमन्त्री सरमाले भने, “जापान इलेक्ट्रोनिक्स, रोबोटिक्स, नवीकरणीय ऊर्जा तथा नवाचारको क्षेत्रमा अग्रणी भएकाले, दिगो विकासका लागि उद्योग र नवाचारमा केन्द्रित हुँदै सहकार्य विस्तार गर्न हामी इच्छुक छौं। गुवाहाटी नजिकै जगिरोडमा स्थापना हुँदै गरेको सेमिकन्डक्टर एसेंबली युनिटमा टाटा इलेक्ट्रोनिक्ससँग सहकार्य गर्न थुप्रै जापानी कम्पनीहरू इच्छुक छन्। यस सहकार्यलाई अझ अगाडि बढाउन, हामी सो सेमिकन्डक्टर इकाइको छेउमा जापानी औद्योगिक सहर स्थापना गर्ने लक्ष्य राखिरहेका छौं।” उनले जापानी औद्योगिक सहरको आफ्नो सपना साकार पार्न जापानी सरकार, विदेश मन्त्रालय तथा अन्य साझेदारहरूबाट समर्थन मागेका छन्। यस सम्मेलनमा असम सरकारको “एक्ट ईस्ट पोलिसी अफेयर्स डिपार्टमेन्ट”, जापानको “सासाकावा पीस फाउन्डेसन” तथा मेघालय बेसिन डेभलपमेन्ट अथोरिटी साझेदारका रूपमा सहभागी भएका छन्।

हालैको जापान भ्रमणका क्रममा मुख्यमन्त्री सरमाले जापानी मन्त्रीहरू, अधिकारीहरू तथा उद्योग जगतका नेताहरूसँग भेटघाट गरी आगामी “एड्भान्टेज असम २.०” लगानी सम्मेलनमा सहभागी हुन आमन्त्रण गरेका थिए। यो सम्मेलन आगामी फरवरी २५ र २६ मा आयोजना हुनेछ, जसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन्। मुख्यमन्त्री सरमाले असममा इलेक्ट्रोनिक्स, सेमिकन्डक्टर, प्रेसिजन इन्जिनियरिङ, हरित ऊर्जा, इलेक्ट्रिक सवारी तथा दिगो नवाचार जस्ता क्षेत्रमा जापानी लगानी भित्र्याउने इच्छाशक्ति व्यक्त गरे। उनले भने, “यसले हाम्रो औद्योगिक विकासलाई तीव्र बनाउनेछ भने पर्यावरणीय स्थिरता पनि सुनिश्चित गर्नेछ।” यसअघि, मुख्यमन्त्री सरमाले असम लगानीका लागि पूर्ण रूपमा तयार रहेको बताउँदै राज्यले आफ्ना प्रमुख चुनौतीहरू: उग्रवाद र आन्दोलन नियन्त्रण गर्न सफल भएको उल्लेख गरेका थिए। भारतका लागि जापानी राजदूत ओनो केइची ले सम्मेलनमा बोल्दै भारत-जापान सहकार्यको वृद्धिलाई उजागर गरे। साथै, भारतको विदेश मन्त्रालयका सचिव (पूर्व) जयदीप मजुमदार, एसियन कन्फ्लुएन्सका गभर्निङ काउन्सिल अध्यक्ष एमपी बेजबरुआ र कार्यकारी निर्देशक सब्यसाची दत्ताले पनि सम्मेलनको उद्घाटन सत्रमा आफ्नो विचार राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement