गान्तोक: खस समुदाय विरुद्ध अभद्र र आपत्तिजनक टिप्पणी गर्ने व्यक्ति सामसङ तामाङ विरुद्ध कड़ा कानुनी कारबाही गरिनु पर्ने माग दिनदिनै तीव्र बन्दै गइरहेको छ। अर्कोतिर, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आफ्नो स्थापना दिवस मनाउने घोषणा गरेपछि खस समुदायका कतिपय सदस्यहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
खस समुदायका एक प्रतिनिधि पीआर शर्माले खस समुदायमाथि कलंक लगाउने व्यक्ति सामसङ तामाङ विरुद्ध सिक्किमे समाजलाई एकजुट बन्न आह्वान गरे। उनले पार्टी, जाति र धर्मभन्दा माथि उठेर काम गर्नुपर्ने सिक्किमे समाजलाई आह्वान गर्दै यसलाई सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो भनी दाबी गरे। उनले भने, ‘खस भनेको जाति मात्र होइन, एउटा सभ्यता हो। हजारौं वर्षको सभ्यतामाथि दाग लगाउने काम केवल एक व्यक्तिको आँट हुन सक्दैन।’
अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले गरेको आफ्नो स्थापना दिवस मनाउने घोषणाप्रति पनि उनले आपत्ति जनाए। उनले यो समय खस समुदायमाथि लागेको आक्षेप मेटाउने हो कि स्थापना दिवस मनाउने समय हो भनी प्रश्न गरेका छन्। उनले सामसङ तामाङ विरुद्ध खस संघको प्रतिक्रियालाई फ्यातुलो ठहर गर्दै खस संघले कठा कदम उठाउनु पर्छ भने।
शर्माले खस संघलाई एसकेएम पार्टी होइन, तर खस समुदायको आवाज बन्न सुझाउ दिए। उनले सरकार र पुलिस प्रशासनलाई पनि सामसङ तामाङ विरुद्ध तत्काल कठोर कानुनी कारबाही गर्न माग गरे।










