५ सेप्टेम्बरः एशिया कपको सुपर ४-को म्याचमा पाकिस्तान विरुद्ध ५ विकेटले हारपछि स्टार भारतीय ब्याटर विराट कोहलीले युवा पेस बलर अर्शदीप सिंहको समर्थनमा केही कड़ा शब्द बोलेका छन्। अर्शदीपले म्याचको १८औं ओभरमा एउटा महत्त्वपूर्ण क्याच छोड़ेका थिए। यसलाई केन्द्र गरेर म्याचपछि सोशल मीडियामा उनको निक्कै आलोचना भएको छ। मोहम्मद रिजवानको अर्द्धशतक अनि मोहम्मद नवाजको आक्रामक ब्याटिंगको दममा आइतवार राति एशिया कप २०२२-मा पाकिस्तानले अन्तिम ओभरसम्म चलेको सुपर फोर-को म्याचमा भारतलाई ५ विकेटले पराजित गऱ्यो। म्याचपछि कोहलीले भने, च्याम्पियन्स ट्रफीमा पाकिस्तान विरुद्ध आफ्नो पहिलो म्याच खेल्दा म पनि खराब शट् खेलेर आउट भएको थिएँ। दबाउमा कसैले पनि गल्ती गर्छन्। खराब लाग्नु स्वाभाविक हो। टीममा माहौल राम्रो छ। यसको श्रेय प्रबन्धन र कप्तानलाई जान्छ। यसैकारण कसैको गल्तीलाई स्वीकार गर्नु पर्छ। उनीसँग कुरा गर्नु पर्छ। त्यसपछि फेरि दबाउको स्थिति आए आफूलाई तयार राख्नु पर्छ। यसरी एउटा गल्तीको लागि कसैलाई लगातार निशाना बनाउनु हुँदैन। अर्शदीप युवा छन् अनि समयको साथ सिक्नेछन्।

म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले दुबई इण्टरनेशनल क्रिकेट स्टेडियमको पीचमा २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बटुल्यो। कोहलीले ४४ बलमा ४ वटा चौका र एउटा छक्काको सहायताले सर्वाधिक ६० रन बनाए। यसबाहेक ओपनरद्वय केएल राहुल र कप्तान रोहित शर्माले २८-२८ रनको योगदान दिए। यी दुवैले २-२ वटा छक्का लगाए। भारतले बीचको ओभरहरूमा लगातार विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन। दीपक हूडा १६, रिषभ पन्त १४, सूर्यकुमार यादव १३ अनि हार्दिक पाण्ड्या शून्यमा आउट भए। पाकिस्तानका बलरहरूमा स्पिनर शादाब खानले सर्वाधिक २ विकेट लिए। जवाफमा पाकिस्तानले कप्तान बाबर आजम (१४)-लाई शुरुमै गुमाए पनि रिजवान र नवाजको उत्कृष्ट ब्याटिंगको सहायताले १९.५ ओभरमा ५ विकेट गुमाएर १८२ रनको लक्ष्यलाई हासिल गऱ्यो।

रिजवानले ५१ बलमा ६ वटा चौका र २ वटा छक्काको सहायताले ७१ रन बनाए। यसरी नै नवाजले २० बलमा ६ वटा चौका र २ वटा छक्काको साथ ४२ रन बनाए। अन्तिम ओभरहरूमा खुशदिल शाहले अविजित १४ र आसिफ अलीले ८ बलमा १६ रन बनाए। भारतीय बलरहरूमा भुवनेश्वर कुमार, अर्दशीप, रवि विश्नोई, हार्दिक पाण्ड्या र युजवेन्द्र चहलले १-१- विकेट लिए। रिजवानलाई प्लेयर अव द म्याच चयन गरियो। भारतले अब मंगलवार सुपर फोर-को म्याचमा श्रीलंका विरुद्ध खेल्नेछ।










