- मोबाइल पुस्तक प्रदर्शनी र राष्ट्रिय ई-पुस्तकालय एपमार्फत श्रद्धालुहरूलाई डिजिटल सुविधा उपलब्ध
नयाँ दिल्ली: प्रयागराज महाकुम्भ २०२५मा जहाँ करोडौं श्रद्धालुहरू गंगा, यमुना र अदृश्य सरस्वतीको संगममा आस्थाको डुब्की लगाइरहेका छन्, त्यहीँ मेला परिसरका विभिन्न प्रदर्शनी पण्डालहरूमा साहित्य, संस्कृति र ज्ञानको अविरल धारा बगिरहेको छ। भारत सरकारका विभिन्न मन्त्रालयहरूले महाकुम्भमा श्रद्धालुहरूको ज्ञानवृद्धिका लागि विशेष व्यवस्था गरेका छन्, जसले गर्दा आम नागरिकले सरकारी योजनाहरू र उपलब्धिहरूबारे जानकारी प्राप्त गर्नुका साथै आधुनिक प्रविधिमार्फत ती योजनाहरूलाई अझ राम्रो तरिकाले बुझ्न सकिरहेका छन्।
यसै क्रममा, भारतको शिक्षा मन्त्रालयअन्तर्गत कार्यरत स्वायत्त संस्था नेशनल बुक ट्रस्ट (एनबीटी) ले महाकुम्भ मेलामा रिडिङ लाउञ्ज स्थापना गर्ने अनौठो पहल गरेको छ। यस लाउञ्जमा श्रद्धालुहरूले निःशुल्क पुस्तकहरू पढ्न सक्नेछन् र साहित्यिक आनन्दको अनुभव लिन सक्नेछन्। एनबीटीको यो विशेष रिडिङ लाउञ्ज प्रयागराजको परेड ग्राउन्डस्थित सेक्टर १ मा नमामि गंगे मण्डपभित्र स्थापना गरिएको छ, जुन श्रद्धालुहरूबीच निकै लोकप्रिय बनिरहेको छ। यस लाउञ्जमा ६१९ शीर्षकका पुस्तकहरू उपलब्ध छन्, जसमा भारतीय दर्शन, संस्कृति तथा कुम्भ मेलासम्बन्धी विशेष साहित्य समावेश गरिएको छ। श्रद्धालुहरूको चासोलाई ध्यानमा राख्दै ‘कुम्भका मेलामा मंगलवासी’, ‘भारतमा कुम्भ’ र ‘ए विजिट टु कुम्भ’ जस्ता पुस्तकहरू पनि उपलब्ध छन्। हिन्दी र अंग्रेजीका अलावा अन्य भारतीय भाषाहरूका पुस्तकहरू पनि यहाँ उपलब्ध छन्, जसका कारण गैर-हिन्दीभाषी श्रद्धालुहरूले समेत यस सुविधाको लाभ उठाइरहेका छन्। विशेष गरी ‘प्रधानमन्त्री युवा योजना’ अन्तर्गत युवा लेखकहरूले लेखेका पुस्तकहरूलाई पनि यहाँ प्रदर्शन गरिएको छ, जसले नयाँ लेखकहरूलाई प्रोत्साहन प्रदान गरिरहेको छ।

एनबीटी का मार्केटिङ अधिकारी आशीष रायका अनुसार, महाकुम्भ मेलामा भारतीय संस्कृतिसम्बन्धी पुस्तकहरूको उच्च माग रहेको छ। यही कारण यस लाउञ्जमा सांस्कृतिक साहित्यलाई विशेष प्राथमिकता दिइएको छ। गैर-हिन्दीभाषी श्रद्धालुहरूले गंगानदी सम्बन्धी ‘द गंगा’, ‘वेदा कल्पतरु’ र ‘एन्सिएन्ट तामिल लिजेन्ड’ जस्ता पुस्तकहरूमा विशेष रुचि देखाइरहेका छन्। यो लाउञ्जको अर्को विशेषता के छ भने यदि कुनै श्रद्धालुलाई कुनै पुस्तक मन परेमा, उनले २५ प्रतिशत छुटमा खरिद गर्न सक्छन्। एनबीटीले महाकुम्भ मेला २०२५मा ‘एनबीटी पुस्तक परिक्रमा’ (मोबाइल पुस्तक प्रदर्शनी) को पनि व्यवस्था गरेको छ। यस योजनाअन्तर्गत ११५० शीर्षकका पुस्तकहरूले भरिएको मोबाइल पुस्तक प्रदर्शनी बस सञ्चालन गरिएको छ। श्रद्धालुहरूले महाकुम्भ परिसरमा जहाँसुकै हिँड्दा–हिँड्दै आफ्नो मनपर्ने पुस्तकहरू अवलोकन र खरिद गर्न सक्नेछन्। यसका अतिरिक्त, शिक्षा मन्त्रालयको राष्ट्रिय ई-पुस्तकालयसम्बन्धी जानकारी पनि प्रदान गरिएको छ। श्रद्धालुहरूलाई आफ्नो मोबाइलमा राष्ट्रिय ई-पुस्तकालय एप कसरी डाउनलोड गर्ने, तथा क्युआर कोड स्क्यान गरेर हजारौं ई-पुस्तकहरू कसरी पढ्न सकिन्छ भन्ने विषयमा मार्गदर्शन दिइँदैछ। महाकुम्भ मेलामा स्थापित एनबीटीको यो रिडिङ लाउञ्ज श्रद्धालुहरूका लागि ज्ञानमूलक अनुभवको स्रोत बन्नुका साथै साहित्य, संस्कृति र डिजिटल ज्ञानको नवीन स्रोतसमेत बन्दै गएको छ। यस पहलमार्फत श्रद्धालुहरू धार्मिक, आध्यात्मिक तथा समसामयिक साहित्यका नजिक आइरहेका छन्। यसरी, महाकुम्भ मेला केवल आस्थाको केन्द्र मात्र नभई, ज्ञान, संस्कृति र साहित्यको अद्भुत संगमको स्थल बनेको छ। -पीआईबी