अलिपुरद्वार: दार्जीलिङ जिल्लाको बरादम झुण्डबाट छुट्टिएको २० दिनको हात्तीको बच्चालाई जलदापाडा राष्ट्रिय निकुञ्जको होलङ सेन्ट्रल पिल रेन्चमा राखिएको छ। दार्जीलिङ वन्यजन्तु विभागद्वारा उद्धार गरिएका उक्त हात्तीको बच्चालाई जलदापाडा राष्ट्रिय निकुञ्जको होलङ सेन्ट्रल पिल क्याम्पमा ल्याइएको हो। फरवरी २ तारिखका दिन महानन्दा उत्तर रेन्जमा वन विभाग कार्यालयबाट १० माइल टाढा उक्त शावक आमासँग छुट्टिएको थियो। वनकर्मीहरूले तीन दिनसम्म शावकलाई आमासँग पुनर्मिलन गराउने प्रयास गरे, तर उनीहरूको प्रयास असफल भयो। यसबीच, आमाको दूधको अभावमा नवजात शावक कमजोर भएपछि वन विभागले उचित हेरचाहका लागि जलदापाडा स्थानान्तरण गर्ने निर्णय गर्यो। बिहीबार राति हात्तीको बच्चालाई सडकमार्ग हुँदै जलदापाडा ल्याइयो, जहाँ विशेषज्ञ महावतहरू र पशु चिकित्सकहरूको टोलीले उसको स्वास्थ्य उपचार शुरु गर्यो। हाल, पशु चिकित्सकको सल्लाहअनुसार शावकलाई शिशु आहार दिइएको छ। शावकले अझै बोतलबाट ठीकसँग दूध खान नसकेकोले शरीरमा पानीको मात्रा कायम राख्न उसलाई ग्लुकोज र इलेक्ट्रोलाइट्स पनि दिइएको छ।
जलदापाडा वन विभागका डीएफओ परवीन कासवानले भने, “बेहतर व्यवस्थापनका लागि हात्तीको बच्चालाई दार्जीलिङ वन्यजन्तु विभागद्वारा जलदापाडा पठाइएको हो। हाम्रो पशु चिकित्सक टोलीले उसको स्वास्थ्यमाथि बारीकी रूपमा निगरानी गरिरहेको छ। ऊ हेरचाह प्रति राम्रो प्रतिक्रिया दिइरहेको छ। चिकित्सक र वरिष्ठ महावतहरूको निर्देशनअनुसार उसलाई ल्याक्टोजेन दुध पिलाइएको छ।‘ उल्लेखनीय कुरा के छ भने यसअघि पनि धेरै उद्धार गरिएका हात्तीका बच्चाहरू जलदापाडा राष्ट्रिय निकुञ्जको नर्सरीमा पालनपोषण गरिएका छन्। जसमध्ये २०२० मा कोडल बस्ती रेन्जमा तोरसा नदीबाट उद्धार गरिएको पाँच दिनको हात्तीको बच्चा “वीर”, २०२३ मा जलपाइगुडी डिभिजनको डालमोर बिटबाट उद्धार गरिएको पाँच महिनाको बच्चा “गजराज”, र २०२४ मा बैकुण्ठपुर डिभिजनको फुलझोरा बिटबाट उद्धार गरिएको आठ महिनाको बच्चा “टिस्टा रानी” रहेका छन्। जलदापाडा राष्ट्रिय निकुञ्ज उत्तर बङ्गालमा हात्ती संरक्षण र पुनर्वासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।