कुमरखोद: सीमावर्ती झापा गाउँपालिकामा हिजोदेखि शुरु भएको मुस्लिमहरुको दुई दिने धार्मिक कार्यक्रम आज सम्पन्न भएको छl सो कार्यक्रमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
धार्मिक सद्भाव भड्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो। भारतबाट आउने प्रत्येक मुस्लिमलाई चेकजाँच गर्ने गरिएको छ। प्रहरीले भारतीय नम्वर प्लेटका गाडीहरुलाई कार्यक्रम स्थलमा आउन दिएको छैन। उनीहरुलाई सीमामा रोक्ने काम भइरहेको छ। कार्यक्रममा नेपाल प्रहरीका डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा १२१ जना र सशस्त्र प्रहरीका डीएसपी विश्वराज योञ्जनको कमाण्डमा ७४ जना प्रहरी परिचालन गरिएको छ।
भारतबाट आउनेहरुलाई परिचय खुल्ने कागजात हेरेर मात्र कार्यक्रममा प्रवेश गर्न दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी चन्दले बताए। उनले सो धार्मिक कार्यक्रमको संवेदनशीलतालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। नेपाल, भारतसंगै बंगलादेश, पाकिस्तानका मुस्लिमहरु आउने बताइएको सो कार्यक्रमका लागि प्रहरी प्रशासनले यसअघि अनुमति दिन मानेको थिएन। पछि धार्मिक सद्भाव भड्किन नदिने आयोजकले प्रतिवद्धता जनाएपछि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो।
झापा गाउँपालिका वडा ५ पन्थापाडास्थित विरिङ पुलको मुनि मुस्लिमहरुको दुई दिवसीय धार्मिक कार्यक्रम विराट इज्तेमा शुरु भएको हो। अहले हदिस झापाका अध्यक्ष मोहम्मद ताहिरको अध्यक्षता तथा भारत विहार किशनगञ्जका धार्मिक गुरु मौलना सईदुर रहमानको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भएको हो। अहले हदिस झापाका सचिव वासेद अलीका अनुसार यो धार्मिक कार्यक्रम भोलिसम्म संचालन हुने छ। सचिव अलीले पहिलो दिन मोरङका मौलना अतहर मदनी र भारत झारखण्डका मौलना सादाव खान मुख्य वक्ता रहेको जनाएका छन्। उनका अनुसार कार्यक्रममा धार्मिक गुरुहरु आउने क्रम जारी रहेको छ। करिव १५ हजार जना सहभागी अटाउने पण्डाल निर्माण गरिएको छ। आयोजकले ७ हजार जना सहभागी हुने दावी गरेको छ। पहिलो दिन सहभागीहरुको भीड देखिएको छ।
कार्यक्रममा निःशुल्क आँखा जाँच र प्राथमिक उपचारको व्यवस्था गरिएको छ। कार्यक्रम स्थलहरुमा अस्थायी रुपमा बस्ने ठाउँको व्यवस्था गरिएको छ भने अस्थायी शौचालय निर्माण गरिएको छ। एकैदरमा खानाका होटलहरु संचालनमा छन्। सादा खानालाई रु. १०० सय, चिकेन खानालाई रु. १५० र विरयानी खानालाई रु. २०० तोकिएको छ।

पहिलो दिनको धार्मिक इज्तेमा कार्यक्रममा प्रमुख अतिथि मौलना सईदुर रहमान, झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, वडा अध्यक्षहरु राजकुमार यादव, हिमालकुमार चम्लागाई, सुवाषलाल गणेश, मोहम्मद ताहिर, मुल्वी, कृष्णप्रसाद राजवंशी, सखिचन्द्र ठाकुर, मौलना अतहर मदनी, मौलना सादाव खानलगायतको उपस्थिति रहेको थियो।