धरान: धरान उप महानगरपालिकामा शनिबारदेखि १५ दिने बिजनेस एक्स्पो हुने भएको छ। धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्यसहित बिजनेस एक्स्पो धरान २०२५ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराए।शनिबारदेखि धरान रङ्गशालामा हुने एक्स्पो फरबरी २२ सम्म सञ्चालन हुने भएको छ। एक्स्पोमा आम सर्वसाधारणलाई निःशुल्क प्रवेश गराइने बिजनेस एक्स्पो धरान २०२५ मूल समितिका संयोजक राजेश अग्रवालले बताए।
साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्यूनतम शुल्क तोकिएको भए पनि अन्य समयमा कुनै पनि प्रकारको शुल्क नलिने उहाँले बताउनुभयो। मुख्य कुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो, धरानका व्यापारी तथा व्यवसायीहरुलाई खुशी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले भने।
आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई दृष्टिगत गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाति परिकारहरुको प्रवर्धन, स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मूल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने मूल समितिका संयोजक टङ्ककुमारी गुरुङले बताए।
१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङलगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ। लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको प्रस्तुति र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ। आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टङ्ककुमारी गुरुङले बताइन्।
एक्स्पाे अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तर्क्रियात्मक वादविवाद गरिने गरिने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराए।










