गान्तोक: पूर्वोत्तर क्षेत्रका लागि आइसीएआर अनुसन्धान परिषद, सिक्किम केन्द्र तादोङद्वारा बिहार सरकारको आत्मा-नवादाको संयुक्त तत्वावधानमा जैविक खेती, प्राकृतिक खेती तथा एकिकृत जैविक खेती प्रणालीमाथि पाँच दिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक आयोजन गरियो। बिहारको नवादा जिल्लाका २८ प्रगतिशील कृषकहरूलाई जैविक उत्पादन तकनिकी, प्राकृतिक खेती तथा एकिकृत खेती प्रणालीबारे नवीनतम प्रगतिबारे जानकारी गराउन ३ देखि ७ फरवरीसम्म प्रशिक्षण कार्यक्रम आयोजित गरिएको थियो।
आइसीएआर सिक्किम केन्द्रका प्रभारी डा रामगोपाल देवदासले जैविक उत्पादन प्रविधि प्रोत्साहित गर्न प्रशिक्षण कार्यक्रमको महत्त्वबारे प्रकाश पारे। “यो प्रशिक्षण कार्यक्रम कृषकहरूबीच जैविक खेतीको चलन प्रोत्साहित गर्न लक्षित छ, जुन दिगो कृषि तथा पर्यावरणको संरक्षणका लागि अत्यावश्यक छ”, उनले बताए। यसका साथै आइसीएआर-सिक्किम केन्द्रद्वारा विकसित प्रविधिबारे चर्चा गर्दै नवादा जिल्लाका कृषकहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने पनि उनले आशय व्यक्त गरे।
वरिष्ठ वैज्ञानिक तथा शीर्ष प्रशिक्षण अधिकारी डा शानकुमार दासले खेती प्रणालीमा पशुका घटकहरू सामेल गर्नुको महत्त्वमाथि बल दिए। यसका साथै एकिकृत जैविक पोषण प्रबन्धन, प्राकृतिक खेती तथा एकिकृत खेती प्रणालीको आवश्यकताबारे पनि उनले अवगत गराए। वरिष्ठ वैज्ञानिक डा एसके दत्तले जैविक बियाँड प्रबन्धन तथा फल उत्पादन तकनिकीबारे विस्तारका साथ जानकारी गराए। वैज्ञानिक डा. टीएल भोटियाले जैविक च्याउ उत्पादनको विधिबारे अवगत गराए। वैज्ञानिक डा अमित कुमारले कृषकहरूलाई जैविक फसल उत्पादन तकनिकीबारे जानकारी दिए। यसै गरी वैज्ञानिक डा तमिलारसनले कृषकहरूलाई जैविक प्रणाली अन्तर्गत डेयरी तथा पोल्ट्री प्रबन्धनबारे अवगत गराएl वैज्ञानिक डा सौरभ शाहले सिक्किममा कृषि अनुकूलन बढाउन एकिकृत जलवायु आधारित कृषि परामर्श सेवाबारे चर्चा गरे। खेतीमा सुधार ल्याउन र फसल नष्ट हुने जोखिम घटाउन प्रविधि प्रयोगको महत्त्वमाथि उनले बल दिए।
अध्ययन भ्रमण अन्तर्गत कृषकहरूले आइसीएआर सिक्किम केन्द्रको अनुसन्धान खेत तथा कृषकहरूको खेत-बारीको पनि भ्रमण गरे, जहाँ उनीहरूलाई चलिरहेको अनुसन्धान, प्रदर्शनी तथा विकास गतिविधिबारे जानकारी गराइयो। प्रशिक्षण कार्यक्रम आयोजन गरिदिएकोमा कृषकहरूले आइसीएआर सिक्किम केन्द्रको पहलको सराहना गर्दै प्राप्त ज्ञानको निम्ति आभार व्यक्त गरे। सबै प्रतिभागीलाई आइसीएआर, सिक्किम केन्द्रका प्रभारी डा रामगोपाल देवदासको बाहुलीबाट प्रशिक्षण प्रमाणपत्र वितरणसँगै कार्यक्रमको समापन भयो। डा एसके दासले यस अवसरमा धन्यवाद ज्ञापन पेश गरे। -पीआईबी