कोलकाता: अमेजन इण्डियाले कोलकातामा आयोजित बङ्गाल ग्लोबल बिजनेस समिटमा पश्चिम बङ्गाल सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) र वस्त्र विभागसँग एउटा समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौतामार्फत राज्यबाट निर्यात प्रवर्द्धन गर्न र यहाँका उद्यमीहरूलाई विश्वव्यापी बजारमा जोड्न सहयोग गरिनेछ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो। यस सम्झौताअन्तर्गत, अमेजनले राज्यका एमएसएमईहरूलाई आफ्नो ग्लोबल सेलिङ कार्यक्रममार्फत तालिम दिनेछ र उनीहरूलाई २०० भन्दा बढी देश तथा क्षेत्रका ग्राहकहरूलाई “मेड इन इण्डिया” उत्पादन निर्यात गर्न सहयोग गर्नेछ। कार्यक्रममा पश्चिम बङ्गाल सरकारका मुख्य सचिव डा मनोज पन्तसहित अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
पश्चिम बङ्गालका सूक्ष्म, लघु तथा मध्यम उद्यम तथा वस्त्र विभागका प्रधान सचिव, राजेश पाण्डे, आईएएसले भने, “सानो व्यवसायलाई डिजिटल कारोबारका लागि सक्षम बनाउनु र राज्यबाट निर्यात प्रवर्द्धन गर्नु हाम्रो प्राथमिकता हो। अमेजनले यस दिशामा अघि बढाएको प्रयासको हामी प्रशंसा गर्छौं। राज्यका लाखौँ उद्यमीहरूको हितमा हामी अमेजनसँग सहकार्य गर्न इच्छुक छौँ। यस्ता पहलले उद्यमीहरूलाई विश्वव्यापी ग्राहकसँग जोड्न र आफ्नो व्यवसाय विस्तार गर्न सहयोग पुग्नेछ।”
अमेजन इण्डियाका ग्लोबल ट्रेड डाइरेक्टर, भूपेन वाकणकरले भने, “प्रविधिको अपनाइले पश्चिम बङ्गाल र भारतका एमएसएमईहरूलाई निर्यातको अवसर प्रदान गरिरहेको छ। इ-कमर्स निर्यात तीव्र गतिमा अघि बढिरहेको छ, जसले गर्दा व्यवसायहरूले सरल रूपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउन सकिरहेका छन्। हामी पश्चिम बङ्गाल सरकारसँग सहकार्य गर्दै यहाँका उद्यमीहरूलाई विश्वव्यापी ब्रान्ड निर्माण गर्न सघाउन तत्पर छौँ।”
पश्चिम बङ्गालबाट निर्यात प्रवर्द्धन
अमेजनले पश्चिम बङ्गाल सरकारसँग सहकार्य गर्दै राज्यका एमएसएमईहरूलाई अमेजन ग्लोबल सेलिङ कार्यक्रमअन्तर्गत तालिम दिनेछ। यसका माध्यमबाट उनीहरूले २०० भन्दा बढी देश र क्षेत्रका लाखौँ अमेजन ग्राहकलाई आफ्ना “मेड इन इण्डिया” उत्पादन बेच्न सक्नेछन्। अमेजन ग्लोबल सेलिङ कार्यक्रमले भारतीय उद्यमीहरूलाई शुरुदेखि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यवसाय विस्तार गर्न अवसर प्रदान गर्छ। अमेजनको वितरण प्रणाली र वैश्विक पहुँचको फाइदा उठाउँदै यी व्यवसायहरूले आफ्नो निर्यात क्षमता तीव्र रूपमा वृद्धि गर्न सक्छन्। हालसम्म, भारतभरका १.५ लाखभन्दा बढी निर्यातकर्ताहरू यस कार्यक्रममा सहभागी भइसकेका छन्, जसले १३ अर्ब डलरभन्दा बढीको कुल निर्यात गरिसकेका छन्। हजारौँ भारतीय व्यवसायहरूले ई-कमर्स निर्यातमार्फत विश्वव्यापी रूपमा लोकप्रिय ब्रान्डहरू निर्माण गरिरहेका छन्। अमेजनले सन् २०३० सम्म भारतबाट ८० अर्ब डलरभन्दा बढीको कुल निर्यात सम्भव बनाउने लक्ष्य लिएको छ।