नाम्ची: नाम्ची जिल्ला प्रशासनले जिल्लाका सबै सरकारी कार्यालयहरुमा ई-सेवा सुविधा उपलव्ध गराउने दिशामा प्रभावी पहल शुरु गरेको छ। जिल्लापाल कार्यालयमा आज बसेको ई-कार्यालय कार्यान्वयन सम्बन्धी तालिम कार्यक्रममा अधिकारीहरुले उत्सहपूर्वक सहभागिता दिए। तालिममा नाम्ची महकुमा अधिकारी निम पिन्छो भोटिया, शरण दास कालिकोटे, कर्मचारीहरू र आईटी खण्डका कर्मचारीहरू उपस्थित थिए। स्मरण रहोस्, भारत सरकारको योजनाअनुरुप प्रत्येक राज्यमा ई-कार्यालयको सुविधा उपलव्ध गराउने रहेको छ। ई-कार्यालय एक वेब तकनिकी हो जसले सरकारलाई सम्पूर्ण प्रशासनिक कार्य स्वचालित गर्न र सरकारी कार्य संस्कृतिलाई रूपान्तरण गर्न सक्षम बनाउनेछ। ई-कार्यालयका फाइदाहरूअन्तर्गत कार्यमा पारदर्शिता, जवाफदेहिता,डेटा सुरक्षा र डेटा सुनिश्चित रहेको छ। यसले कर्मचारीहरुको ऊर्जा वचत र समयको वचत पनि गर्दछ। तालिम कार्यक्रमका सहभागीहरूलाई सम्पूर्ण कार्यप्रणालीबारे विस्तृतरुपमा जानकारी दिएको थियो। प्रशिक्षणअवधिमा ई-कार्यालय वेबसाइटको डेमो प्रस्तुति पनि गरिएको थियो। जसमा विभिन्न प्रकारका आवेदन र त्यसको कार्यन्वयनबारे पनि जानकारी दिएको थियो। प्रशिक्षण सत्रमा एक अन्तरक्रियात्मक कार्यक्रम पनि गरियो।