गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशन र सहयोगमा प्रयागराज महाकुम्भमा सहभागी बन्न सिक्किमबाट कुल ५१ जना पण्डित गुरूजी, १० जना बुङथिङ, १० जना पत्रकार एवं मुख्यमन्त्री कार्यलयका अधिकारीहरू गरी कुल ७६ जनाको टोली प्रस्थान भएका छन्। राज्यका ६वटै जिल्लालाई प्रतिनिधित्व गर्दै धर्मगुरूहरूले महाकुम्भमा सहभागिता जनाउनेछन् भने हरेक निर्वाचन क्षेत्रबाट दुई-दुईजना पण्डित पुरोहितहरूले यो वृहत धार्मिक सम्मेलनमा सहभागी बन्ने अवसर प्राप्त गरेका छन्।
यो अवसर प्रदान गरिदिनुभएकोमा उनीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यसैगरी समन्वय गरिदिएकोमा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज तथा मुख्यमन्त्री कार्यलयका अधिकारीहरूप्रति पनि धन्यवाद दिएका छन्। आज अपरान्ह एनजेपी रेल्वे स्टेशनबाट राजधानी एक्सप्रेसमार्फत यो टोली प्रयागराजतर्फ प्रस्थान गरेको छ।
पण्डित पुरोहितहरूले हनुमान चालिसाको मन्त्रपाठ गरेर आजको यात्रा शुरू गरेका थिए। आगामी ८ र ९ फरवरीको दिन मुख्यमन्त्री तामाङले सिक्किम र सिक्किमेली जनताको कल्याण एवं सुख समृद्विको कामना गर्दै महाकुम्भमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ।