सिलगढी: केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले मदन तामाङ हत्याकाण्डका प्रमुख आरोपी पुरण बहादुर राईलाई बेंगलुरुको बोम्मासन्द्र, मारुती नगरबाट बिहीबार पक्राउ गरेको छ। अखिल भारतीय गोर्खालीगका नेता मदन तामाङको २०१० मई २१ मा दार्जिलिङको क्लबसाइडमा दिनदहाडै हत्या गरिएको थियो। सीबीआईका अनुसार राई सन् २०१७ देखि कानुनी प्रक्रियाबाट भागिरहेका थिए। पक्राउ पर्नबाट बच्न पुरण बहादुर राई दार्जीलिङबाट बेंगलुरुको अनेकल तालुकामा सरेको सीबीआई आफ्नो प्रेस विज्ञप्तिमा जनाएको छ। पश्चिम बङ्गाल र केन्द्र सरकारको सुचनापछि सीबीआई उक्त हत्याको अनुसन्धान आफ्नो हातमा लिएको थियो। यस क्रममा दार्जीलिङ सदर पुलिस थानामा दर्ता गरिएको एफआईआर लिएर सन् २०११ जनवरी १९ मा पुन: मुद्दा दर्ता गरिएको थियो। राई यस मामलामा आरोपी रहेका थिए, तर उनले २०१७ देखि अदालतको सुनुवाइमा उपस्थिति जनाएका थिएनन्। कोलकातास्थित सिटी सेसन्स कोर्टका प्रमुख न्यायाधीशले २०१७ अप्रेल ३ मा उनको नाममा सार्वजनिक सूचना जारी गरेका थिए भने २०२४ नोभेम्बर २० मा खुला पक्राउ पुर्जी जारी गरेका थिए। सीबीआईले लामो अनुसन्धान र प्रविधिको सहयोगमा फरार रहेका राईलाई पक्रिन सफल भएको हो। उनलाई छिट्टै सम्बन्धित अदालतमा पेश गरिनेछ।