जीटीए आईडल केवल एक गायन प्रतियोगिता मात्र नभएर यो एक क्रान्ति हो: अनोश थापा
खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा आयोजना भइरहेको जीटीए आईडललाई लिएर स्थानीय अप्पर महारानी सार्वजनिक भवनमा टुङ-सन्तमेरिज समष्टिको सभा सम्पन्न भएको छ। जीटीए आईडल २०२५ समष्टि समिति सभापति बुद्ध थामीको सभापतित्वमा सम्पन्न भएको छ। उक्त सभामा सूचना अनि सांस्कृतिक विभाग गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारी सभासद अनोश थापाको विशेष उपस्थिति रहेको थियो भने समष्टि सभासद तथा जीटीए आइडल समष्टि समितिका संयोजक नुरी शेर्पाको पनि उपस्थिति रहेको थियो।
समष्टि स्तरीय आयोजना भइरहेको जीटीए आईडल गायन प्रतियोगितालाई के-कस्तो प्रकारले आयोजना गर्नु पर्ने भन्ने विषय लिएर सभाको मूल अौचित्य रहेको थियो भने यस विषय लिइएर सूचना एवं सांस्कृतिक विभागका भारप्राप्त सभासद अनोश थापाले विस्तृत रुपमा सभालाई जानकारी गराए। स्मरण गराइन्छ, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपालको निर्देशनमा सो गायन प्रतियोगिता आयोजना भइरहेको छ। यो गायन प्रतियोगिता केवल प्रतियोगितासम्म मात्र सिमित नरहेर यसलाई एक क्रान्तिको रुपमा लिइएको सभासद अनोश थापाले मन्तव्य प्रकट गरेका छन्। अन्य ठाउँहरुबाट नरहेर अब आफ्नै माटो र पहाडी गीत-संगीतहरुलाई प्रोत्साहन प्रदान गर्नहेतु सो कार्यक्रम आयोजना भइरहेको हो। साहित्य, संगीत र कलाको कुनै सिमा नरहेता पनि अब हाम्रै क्षेत्रका कलाकार युवा-युवतीहरुलाई प्रोत्साहन प्रदान गर्न हेतु समष्टि-समष्टिभित्र लुप्त भएका कलाकारहरु प्रकाशमा ल्याउनु पनि सो गायन प्रतियोगिताको मूल उद्देश्य पनि रहेको हो। यतिमात्र नभएर साहित्य, समाज, खेलकूद, शिक्षा, राजनिति एवं विविध विषयहरुमा संलग्न रहेका महानुभावहरुलाई पनि सम्बर्धना गर्नु उक्त प्रतियोगिता कार्यक्रममा थप आकर्षण प्रदान गर्नु रहेको देखिन्छ। यस कार्यक्रम यस वर्ष प्रथमचोटि भएको हुनाले अबउसो प्रत्येक वर्षनै यस कार्यक्रम आयोजना हुने सभासद अनोश थापाले कार्यक्रमको विस्तृत रुपरेखाबारे पनि प्रकाश पार्दै टुङ-सन्तमेरिज समष्टिले सो कार्यक्रम अति नै भव्य रुपमा सम्पन्न होस् भन्ने कामना पनि व्यक्त गरे। जीटीए आईडल गायन प्रतियोगिता २०२५ को समष्टि समिति सचिवा रेश्मा दियाली थापाद्वारा सञ्चालन गरिइएको उक्त सभालाई समष्टि सचिव रोशन हाङ सुब्बाद्वारा स्वागत वक्तव्य पेश गरियो भने समष्टि सभासद नुरी शेर्पाले पनि सभालाई सम्बोधन गरेका थिए। यस क्रममा उनले अब यस कार्यक्रमलाई लिएर समष्टि लागि पर्ने प्रतिश्रूति व्यक्त गर्दै सभासद अनोश थापाप्रति हार्दिक आभार पनि प्रकट गरे। स्मरण गराइन्छ – आगामी माध्यमिक/उच्च माध्यमिक तथा विभिन्न बोर्ड परिक्षाहरुलाई मध्यनजर राख्दै सो गायन प्रतियोगिता केही समय पछि सरेको जानकारी गराइन्छ भने कार्यक्रमको मिति तय भएपछि सबैलाई पछिबाट अवगत पनि गराइने छ।

आजको सभामा समष्टिका पदाधिकारीगण, युवा शक्ति, नारी शक्तिका पदाधिकारीगण, समष्टि जोनल सभापति/सचिव एवं प्रतिनिधिगण, समष्टि अन्तर्गत रहेका तीनैवटा ग्राम पञ्चायतहरुका प्रधान/उपप्रधान, सदस्य/सदस्यागण, पञ्चायत समितिका सदस्य/सदस्यागण लगायत कला एवं संगीतप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो भनी समष्टि प्रचार-प्रसार सचिव बिराज थापाले जानकारी दिएका छन्।