गान्तोक: भिडियो बनाएर छेत्री बाहुन समुदायलाई गाली गर्ने सामसोन तामाङलाई यथाशीघ्र पक्राउ गर्ने माग गर्दै भारतीय जनता पार्टी, सिक्किम एकाईले आज सिक्किम पुलिसका महानिदेशक अक्ष्य सचदेवालाई भेट गरे। प्रतिनिधि टोलीलाई पार्टीका प्रदेश अध्यक्ष डीआर थापाले अगुवाइ गरेका थिए।
भाजपा प्रतिनिधि टोलीका सदस्यहरूसित कुराकानी गर्दै डीजीपी सचदेवाले सामसोन तामाङ विरुद्ध सिक्किम पुलिसले अगावै प्राथमिकी दर्ता गरेर कानुनी कार्यवाही शुरु गरेको जानकारी गराए। यसको साथै उनले गान्तोक जिल्लाका पुलिस अधिक्षकलाई यस मामिलालाई तीव्रतासित अघि बढ़ाउने निर्देश पनि दिएका छन्।
उल्लेखनीय छ, पश्चिम बङ्गाल निवासी सामसोन तामाङ नाम गरेका एक व्यक्तिले केही दिन अघि एउटा भिडियो जारी गरेर सिक्किम साथै दार्जीलिङका छेत्री बाहुन समुदायलाई गाली गरेको विषयले अहिले सिक्किम र दार्जीलिङमा व्यापक जनाक्रोश फैलिएको छ।









