गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोले र दक्षिण सिक्किमको नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईले आज पद तथा गोपनीयताको शपत ग्रहण गरे।
सिक्किम विधानसभाको आज सम्पन्न भएको एकदिवसीय अधिवेशनमा विधानसभा अध्यक्ष एमएन शेर्पाले विधायकद्वयलाई शपत दिलाए।
उल्लेखनीय छ, नोभेम्बर २०२४ मा सोरेङ च्याखुङ निर्वाचन क्षेत्र र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा उपचुनाउ भएको थियो। उपचुनाउमा सत्तारूढ़ एसकेएम पार्टीका उम्मेदवारद्वय आदित्य गोले र सतिशचन्द्र राई निर्विरोध निर्वाचित भए।सिक्किममा २०२४ मा सम्पन्न भएको आम चुनाउमा मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ सोरेङ च्याखुङ र रिनाक निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए। उनले उक्त दुईवटै निर्वाचन क्षेत्रबाट भारी मतले चुनाउ जिते। उनले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट राजीनामा दिएपछि उपचुनाउ भयो। उपचुनाउमा एसकेएम पार्टीले पूर्व विधायक आदित्य गोलेलाई फेरि क्षेत्रको प्रतिनिधित्व गर्न टिकट दियो।

नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा एसकेएम पार्टीले कृष्ण कुमारी राईलाई टिकट दिएको थियो। श्रीमती राईले चुनाउ जितेपछि विधायक पदको शपथ ग्रहण गरेकै भोलिपल्ट उनले राजीनामा दिएकी थिइन्। यसपछि, भएको उपचुनाउमा एसकेएम पार्टीले सतिशचन्द्र राईलाई टिकट दिएको थियो।