गान्तोक: स्यारी निर्वाचन क्षेत्रमा पर्यटकहरू भित्र्याउने उद्देश्यले भुसुक नैताम ग्राम पञ्चायत यूनिटअन्तर्गत गोनाम फेबामा आज प्याराग्लाइडिङको पहिलो ट्रायल सम्पन्न भयो। स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ लाम्ठाले यस कार्यक्रमको उदघाटन गरे। आज ट्रायलको पहिलो दिन तीन जना पाइलटहरूले उडान भरे। गोनाम फेबाबाट उडेका तीनजना पाइलटले नाम्चेबुङ निर्वाचन क्षेत्रको गौचरणमा सफलतापूर्वक अवतरण गरे। विधायक लाम्ठाले जानकारी गराएअनुसार यस ठाउँलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउनको निम्ति धेरै दिनदेखि पहल भइरहेको जानकारी गराए। पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस स्थान प्याराग्लाइडिङको निम्ति उचित छ की छैन भनेर सिक्किम प्याराग्लाइडिङका एक्सपर्टहरूले धेरै पल्ट अध्ययन सहित सर्वेक्षण गरेपछि अन्ततः यहाँबाट प्याराग्लाइडिङ उडान भर्न सम्भव र सठीक देखिएपछि पहल शुरू भएको बताए। गोनाम फेबाबाट उडान भरेपछि अवतरणको निम्ति विभिन्न स्थानहरूलाई चिन्हित गरिएको छ। जसमा पालुम,रिजे, नान्डोक, सरमसा र राङका रहेको छ। यदि यस योजना सफलतापूर्वक सम्पन्न भएको खण्डमा स्थानीयहरूको आयस्रोत मजबुत बन्न सक्ने उनले सम्भावना व्यक्त गरे। धेरै दिनदेखि यसको निम्ति पहल शुरू भएको र अहिले सडकदेखि प्याराग्लाइडिङ उडान हुने स्थल लगभग २२ सय मिटर उँचाइमा रहेको छ भने यसलाई व्यवसायिकरूपमा सञ्चालन गर्न सकेमा अवश्य पनि स्थानीयहरूले धेरै लाभ उठाउन सक्ने विधायक लाम्ठाले मन्तव्य प्रकट गरे। गत केही दिनदेखि राङकाको प्याराग्लाइडिङ बन्द भएको छ भने अब यसलाई विकल्पकोरूपमा लिन सकिने उद्देश्यले अहिले युद्धस्तरमा यसको कार्य चलिरहेको छ। विशेष गरेर सडकदेखि माथि पुग्न हिँडेर जानपरेमा आधा घण्टाको समय लाग्ने गर्दछ भने अहिले सडक निर्माण कार्य पनि पुरा भएकोले वाहनमा जानपरे पाँच मिनटमा पुग्न सकिनेछ।

यसै क्रममा सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका महासचिव सन्दीप राईले जानकारी गराए अनुसार विगत वर्षमा यस भन्दा माथिबाट पनि ट्रायल भएको थियो तर त्यहाँ यहाँ जस्तो राम्रो नभएकोले यस स्थानलाई प्राथमिकता दिएको र यहाँ प्याराग्लाइडिङको भविष्य राम्रो रहेको छ। यस स्थानलाई लामो समयसम्म अध्ययन गरेपछि आज ट्रायल गरिएको हो। यस स्थानबाट राष्ट्रीय अन्तराष्ट्रीयस्तरको प्रतियोगिता यहाँबाट गर्न सकिने बताए। उनले थप जानकारी गराए अनुसार आज गरिएको ट्रायलबारे एक रिपोर्ट तयार गरिनेछ भने सोही रिपोर्ट अनुसार यसलाई आधिकारिकरूपमा उदघाटन गरेर पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए। यदि यो आधिकारिकरूपमा उदघाटन भएर शुरू भएको खण्डमा स्थानीयहरूले प्रतिदिन ५ हजार रूपियाँको आम्दामी गर्न सक्ने उनले सम्भावना व्यक्त गरे।