गान्तोक: मंगन जिल्लाको यातायात विभागअन्तर्गत मोटर भेहिकल विभागले रिङगिम हेलिपेडमा राष्ट्रीय सडक सुरक्षा महिना कार्यक्रम गऱ्यो। यस कार्यक्रम आयोजको मुख्य लक्ष्य सडक सुरक्षा उपायहरू, जिम्मेवार ड्राइभिङ र दुर्घटनाहरू रोक्न र सबैका लागि सुरक्षित सडकहरू सुनिश्चित गर्न साथै ट्राफिक नियमहरू पालना गर्ने महत्त्वको बारेमा जागरूकता गराउनु रहेको छ। कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल अनन्त जैन थिए। साथमा पुलिस अधिक्षक सोनाम देछु भोटिया, महकुमा अधिकारी अभिजित पाटिल लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए। यस कार्यक्रमको पहिलो चरणमा बसडाँडा, अप्पर मंगन बजारदेखि लोवर मंगन बजारसम्म ऱ्याली निकालियो। जसमा सहभागीहरूले सडक सुरक्षा सम्वन्धि जागरूक गराए। कार्यक्रममा जिल्लापालले सहभागीहरूलाई सडक सुरक्षा शपथ ग्रहण गराउँदै सुरक्षित ड्राइभिङ र जिम्मेवार व्यवहारबारे उल्लेख गरे। उनले चालकहरूलाई शान्त रहन र सुरक्षित गतिमा गाडी चलाउन आग्रह गर्दै यस अभियानको महत्वाकांक्षी लक्ष्य शून्य दुर्घटना र घटना रहेको बताए। सोही प्रकारले मोटर भेहिकल डिभीजनका वरिष्ठ अधिकारी जिग्मी दोर्जी भोटियाले राष्ट्रिय सडक सुरक्षा महिनाको महत्त्वमाथि प्रकाश पार्दै सडक सुरक्षाबारेमा जानकारी दिए। उनले प्रत्येक वर्षको फरवरी महिनामा मनाइने कार्यक्रमबारे उल्लेख गरे। उनले सिक्किमभरि स्थापित एआई क्यामेराबारेमा पनि जानकारी दिए। यसले ट्राफिक उल्लङ्घनहरूको निगरानी र सडक सुरक्षा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ट्राफिक पुलिल अधिकारी तोप्गे लेप्चाले सडक सुरक्षा नियमहरू र ट्राफिक नियमहरूको महत्त्वबारेमा जानकारी दिए। उनले सबैका लागि सुरक्षित सडक सुनिश्चित गर्न जिम्मेवार ड्राइभिङको आवश्यकतामाथि जोड दिँदै उल्लङ्घनका लागि चलान हुने अवगत गराए। यसरी नै नेटुक लेप्चा र सोनाम लाडेन लाचुङपाले महिला र बालबालिकाको सुरक्षामाथि जोड दिँदै बेटी बचाओ, बेटी पढाओ पहलबारेमा मन्तव्य राखे। दुवैले सहभागीहरूलाई हेल्पलाइन नम्बरहरूको बारेमा पनि जानकारी गराए। यसरी नै निमा छिरिङले गाड़ीहरुको लागि टोकन करमाथि जानकारी दिँदै यसको पालन गर्ने अवगत गराए।