दार्जीलिङ: दार्जीलिङ विधानसभा क्षेत्र अन्तर्गत हरिदास हट्टा कनभेन्ट रोड निवासी प्रशान्त छेत्रीको उपचारका लागि पश्चिम बंगाल सरकारको मुख्यमन्त्री राहत कोषबाट एक लाख रुपियाँ अनुदान स्वीकृत गरिएको छ। विधायक निरज जिम्बाको पहलमार्फत स्वीकृत उक्त सहयोगले प्रशान्त छेत्रीको उपचार प्रक्रियामा महत्वपूर्ण सहायता पुग्ने विश्वास गरिएको छ। विधायक निरज जिम्बाले प्रशान्त छेत्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गरेका छन्। उनले भनेअनुसार जनसेवा भाषणमा होइन, संकटको घडीमा साथ उभिने कार्यमा निर्भर गर्दछ। स्वास्थ्य उपचार कुनै विलासिता होइन, यो आधारभूत आवश्यकता हो। मेरो जिम्मेवारी जनताको सेवामा समर्पित छ र जसले सहयोगको याचना गर्नुभएको छ, उनलाई केवल शब्दमात्र होइन, वास्तविक सहायता प्रदान गर्न पनि प्रतिबद्ध छु। यसको साथै विधायक जिम्बाले व्यक्तिगतरूपमा पनि निजी कोषबाट जहाँसम्म सम्भव छ, सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ताकि आर्थिक अभाव कसैको उपचारमा बाधक नबनोस्। मानवीय संवेदना सिमानाले बाँध्न सकिन्न, न त सहयोग सीमित हुनुपर्छ। म आफ्नो दायित्वलाई कुनै पनि पार्टीगत स्वार्थभन्दामाथि राख्दै चिकित्सा संकटमा परेका प्रत्येक नागरिकलाई सहायता गर्ने प्रयास गर्छु। प्रशान्त छेत्री र उनका परिवारप्रति धैर्य र आशावादको सन्देश दिँदै विधायक जिम्बाले तपाईंहरू एक्ला हुनुहुन्न। कठिन संघर्ष भए पनि हामी सबै तपाईंहरूसँग छौँ। शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र प्रशान्त छेत्री पुनः सशक्त जीवन यात्रा सुरू गर्नुहुनेछ आशा गर्छु, विज्ञप्तिमा उनले भनेका छन्।