काठमाडौं: पूर्वमन्त्री रामकुमारी झाँक्रीले चलचित्र ‘एक्टर: टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन्। उनले यस चलचित्रलाई ‘एकदमै रहस्यमय र रमाइलो’ भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन्। झाँक्रीले भनिन्, “सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन ।” उनले प्रदिप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई पनि सम्बोधन गरिन्। उनले भनिन्, “म नेपाली चलचित्रलाई प्रवर्द्धन गर्ने व्यक्ति नै हुँ। बधाई छ प्रदिप खड्कालाई। दिलीपजीको छोरी, हाम्रो भदैनी दिव्यालाई पनि बधाई छ।” साथै, उनले राजबल्लभ कोइरालालाई पुनः चलचित्रमा स्वागत गर्दै, सबै कलाकार, निर्देशक र निर्माताहरूलाई पनि बधाई दिइन्।
झाँक्रीले यस चलचित्रले रिलिजको मुखमा खेप्नु परेको समस्याको विषयमा पनि बोलिन् । “विवाद नहुनुपर्ने थियो, भयो तर केही छैन। यो चलचित्र उठिसकेको छ, अब झनै दौडिनेछ। दर्शकलाई मैले यो चलचित्र सफल बनाउन अनुरोध गर्छु,” उनले भनिन्। उनले सेन्सर पास हुनु अगाडि नै सबै कुरा समाधान गर्नुपर्नेमा जोड दिँदै भनिन्, “जे कुरा हुन्छ, चलचित्रको सेन्सर पास हुनु अगाडि नै गर्नुपर्ने हो। यो चलचित्रलाई लिएर पनि त्यसरी नै जानुपर्ने थियो। यो चलचित्रको नाम पनि हुबहु मिलेको छैन। हाम्रो अदालत पनि प्रो एक्टिभ छ।” झाँक्रीले चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने बताइन्। उनले हुबहु नमिलेको नाममा यस्तो नहुनु पर्ने भन्दै मानिसहरूले अप्ठेरो पार्न पनि यस्ता गतिविधि गर्ने गरेको र यस्तो गर्नु राम्रो नभएको जिकिर गरिन्। अभिनेता राजबल्लभ कोइरालाले राम्रो फिल्ममेकरको महत्त्व दर्शाउँदै फिल्ममेकर जोगाउँदा नेपाली चलचित्रलाई फाइदा हुने बताए।
‘एक्टर: टेक वन’ प्रदर्शनमा आएको एक हप्तामा दर्शकबाट व्यापक रूपमा सकारात्मक प्रतिक्रिया पाएको छ। यस चलचित्रमा प्रदिपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।