गान्तोक: एसकेएम पार्टीको १३औं स्थापना दिवस स्यारी निर्वाचन क्षेत्रअन्तर्गत भुसुक स्कूल मैदानमा पालन गरियो। यस अवसरमा क्षेत्र विधायक तेञ्जिङ नोर्बु लाम्ठा मुख्य अतिथि थिए। यसरीनै विशिष्ट अतिथिमा मुख्यमन्त्रीका सल्लाहकार एवं फुचुङ भोटिया थिए। कार्यक्रममा पार्टीको हितमा काम गर्दा जेल गएका पार्टीका युवा कार्यकर्ताहरूलाई सम्मान जनाइयो। सोही प्रकारले पूर्व सरकारको कार्यकालमा एसडीएफ पार्टीको दबावबीच पनि पञ्चायत र जिल्ला पञ्चायत चुनाउमा प्रतिष्पर्धा गरेका साहसी योद्धाहरूलाई पनि पार्टीले सम्मान जनाएको छ। आज एसडीएफ र सिटिजन एक्सन पार्टीका सक्रिय ४५ जनाले पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल भए। आज सामेल हुनेहरूलाई विधायक लाम्ठाले पार्टीमा स्वागत जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवं क्षेत्र विधायक तेञ्जिङ नोर्बु लाम्ठाले मुख्यमन्त्री प्रेमसिँह तामाङको नेतृत्वमा सिक्किम राज्यले धेरै उपलब्धि हासिल गर्न सकेको जानकारी गराए। वर्तमान सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको किटान गरे। स्यारीको समस्यालाई लिएर आफूले मुख्यमन्त्रीसमक्ष राखेको धेरै मागहरूलाई स्वीकृति दिइसकेको र अबको केही दिनमा ती सबै कामहरू पुरा हुने बताए। सोही प्रकारले चानमारीको सडक निर्माणको लागि सीमा सडक संगठनलाई स्वीकृति दिएको हुनाले उक्त सडकको निर्माण कार्य शुरू हुने आश्वासन दिए। सरकार गठन भएको सात महिनामा चानमारीको निम्ति धेरै योजनाहरूबारे छलफल भएको र अब ती समस्याबाट स्यारीका जनताले मुक्ति पाउन सक्ने बताए। मुख्यमन्त्रीले स्यारीलाई वैकल्पिक मार्ग प्रदान गर्नको निम्ति धेरै छलफल गरेको र यस विषयमा सर्वेक्षण गरिने र त्यपछि सडक निर्माण गरिने जानकारी गराए। यसरी नै ताथाङचेन,छोङ्गे र कोपीबारीमा खेल मैदान हुनुपर्ने विषयलाईलिएर मुख्यमन्त्री समक्ष माग राखिसकेको जानकारी गराए। क्षेत्रमा अब एसकेएम पार्टीबाहेक अन्य पार्टी नरहेको दावी गरे। अब क्षेत्रका २१ वार्डमा समिति गठन गरिने जानकारी गराए। यसबीच उनले हालै सम्पन्न सिक्किम विधायक दलको बैठकमा छुटेका १२ जातिलाई जनजातिको मान्यता दिलाउनेबारेमा चर्चा भएको तर दार्जीलिङ सिक्किम विलयबारे कुनै कुरा नभएको पुष्टि गरे। राज्यका केही राजनीतिक पार्टीले यस विषयलाई मुद्दा बनाएर जनतालाई भ्रमित तुल्याएको आरोप पनि लगाए। यसक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि फुचुङ भोटियाले एसकेएम पार्टी रोलु मन्दिरमा पुगेर संकल्प गरेपछि जन्मिएको हो भन्दै पूर्व सरकारकालमा विभाजनको राजनीति चलेको आरोप लगाए।