गान्तोक: सामाजिक सञ्जालामा देखा परेको साम्सोङ तामाङको बयानमाथि सत्तारूढ़ एसकेएम पार्टीले घोर भत्सर्ना गरेको छ। उनको उक्त वक्तव्य पूर्णरूपले असत्य, तथ्यहीन, अस्वीकार्य अनि अव्यावहारिक रहेको एसकेएम पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङद्वारा जारी गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। साम्सोङ तामाङले उल्लेख गरेका कुराहरू न हिजो कुनै सत्यता थियो, न आज छ अनि नत भविष्यमा यस्ता मनगडन्ते कुराहरूले कुनै स्वीकार्यता नै पाउने बताएका छन्। भारतको शान्तिप्रिय अनि जातीय सदभावना सँधै कायम रहेको सिक्किम राज्यमा यस्ता जातिवादी विचारको कुनै स्थान नै छैन भन्दै खालिङले यहाँको समाज र राजनीति यस्तो तुच्छ विचारधारादेखि धेरै माथि उठिसकेको छ, जहाँ सबै सिक्किमवासी चाहे कुनै जुनै धर्म र जात समुदायको भएता पनि आपस्तमा सिक्किमे मूलका भारतीय नागरिक भएर बाँचिरहेको बताएका छन्। आफ्नै कुराको सुर नभएका सामसोङ तामाङले निजी तथा अति नै आपत्तिजनक कुराहरूमा सिक्किमको अखण्ड समाजलाई मुछ्नु अति नै दूर्भाग्यपूर्ण कुरा रहेको उनको भनाइ रहेको छ। युगौंदेखि सिक्किम राज्यका भोटिया, लेप्चा अनि नेपाली समुदाय, जसभित्र खस छेत्री- बाहुन लगायत सम्पूर्ण नेपाली उप जातिहरू पर्छन्, तर अहिलेसम्म आपस्तमा नङ-मासु झैं मिलेर बस्दै आइरहेको बताएका छन्। राजाको शासनकालमा राजाले पनि राज्यमा बसोबासो गर्ने कुनै पनि जातिलाई छुट्याएको थिएन भने १९७५ मा सिक्किम भारतको एक अभिन्न अङ्ग बनेपछि आजसम्मको प्रजातान्त्रिक इतिहासमा एकाआर्कामा मिलेर दाज्यु-भाई सरह बस्दै आएको अति नै मनोरम अनि गौरवशाली इतिहास रहेको खालिङले उल्लेख गरेका छन्।
जहाँसम्म सिक्किममा खस जातिको चिन्हारी, अस्तित्व र इतिहासको कुरा छ यो सिक्किमको मानचित्रसँगै सबै सिक्किमवासी जाति समुदायसँग एकै साथ उभिएको दावी गरेका छन्। सिक्किमको सम्पूर्ण स्थानीय रैथाने समुदायको जुन चिन्हारी अनि इतिहास जीवित छ, त्यही चिन्हारी र इतिहास खसको पनि छ। आज एक मानसिक सन्तुलन गुमाएको व्यक्तिले गर्दा सम्पूर्ण खस समुदायमा जुन चोट पुगेको छ यसलाई एसकेएम पार्टीले अति गम्भीरतासँग संज्ञानमा लिँदै उक्त व्यक्तिविरुद्द आवश्यक अनि कठोर कानूनी कार्यवाही अवश्यक ठानेको छ भनी उल्लेख गरेको छ। यसका साथै खस समुदायको गौरवशाली पहिचान र इतिहासलाई सधैं अटल अनि निर्विवाद राख्नु आवश्यक पहल पनि पर्छ, ताकि भविष्यमा यस्ता समाजबिरोधी तत्वहरुले घात गर्ने हिम्मत गर्न नसकोस्, खालिङले यसो भने। यसबीच, केही व्यक्ति विशेष अनि राजनैतिक पार्टीहरुको बयान वा प्रेस विज्ञप्तिहरुमा सामसोङ तामाङसँग जोडेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई दोष्याउने कुप्रयास गरेको पनि देखियो जो सरासर गलत हो अनि यस्तो गम्भीर विषयलाई पनि राजनैतिक रोटी सेक्ने मौकाको रूपमा प्रयोग गर्न खोज्ने उनीहरूको यो कोशिश अति नै निन्दनीय रहेको खालिङले बताएका छन्। वर्तमानमा विज्ञान अनि विकासको देन अनुरूप फोटो खिँच्ने सुविधा अति सरल अनि प्रसस्त भएको कारण कही-कतै फोटो खिँचेको हुनसक्छ तर यसको अर्थ फोटोमा हुनेसँग राजनैतिक अनि वैचारिक सम्बन्ध छ भन्नु अव्यवहारिक र अवैज्ञानिक हुने खालिङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।