गान्तोक: नेपाली साहित्य परिषद् सिक्किम र तुलसीराम कश्यप प्रतिष्ठानको संयुक्त तत्त्वावधानमा आगामी ११ फरवरी २०२५-को दिन ८६औँ कश्यप जयन्ती पालन गरिने भएको छ। राजधानीस्थित जीवन थिङ मार्गमा सञ्चालित नेपाली साहित्य परिषद् भवनमा आयोजन गरिने समारोहमा कश्यप स्मृति पुरस्कार अलङ्करणसँगै कश्यप ग्रन्थावलीको लोकार्पण गरिने परिषदले जानकारी गराएको छ। कश्यप जयन्तीलाई लिएर आज साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा कश्यप प्रतिष्ठानका प्रतिनिधिवर्ग र साहित्य परिषद्का कार्यकारी समितिका सदस्यवर्गको उपस्थितिमा बसेको बैठकमा यस्तो निर्णय लिइएको हो। स्मरण गराइन्छ, कश्यप प्रतिष्ठानले यस वर्ष नवौँ तुलसी कश्यप स्मृति पुरस्कारद्वारा वरिष्ठ साहित्यकार नाम्ची आसाङथाङ निवासी थिरूप्रसाद नेपाललाई पुरस्कृत गर्ने घोषणा गरिसकेको छ। समारोहमा नेपाली साहित्य परिषद्ले सिक्किमका एक प्रतिष्ठित साहित्यकार राधाकृष्ण शर्मा (काफ्ले)-को साहित्यिक योगदानमाथि चर्चा राखिएको छ। राधाकृष्ण शर्मा नेपाली साहित्य परिषद्द्वारा मरणोप्रान्त भानु पुरस्कारले विभूषित लेखक एवम् साहित्यकार हुन्। यसपल्ट कश्यप प्रतिष्ठानले महाकवि तुलसीराम कश्यपका सम्पूर्ण रचनाहरूलाई समेटेर २५०० पृष्ठको ग्रन्थावली प्रकाशित गरेको छ, जसको लोकार्पण उनको जन्म जयन्तीमा गरिने तय भएको छ। समारोहमा मुख्य अतिथिका रूपमा कवि राजेन्द्र भण्डारी रहनेछन्। बैठकले यसबाहेक आमसभाको आयोजनबारे पनि चर्चा गऱ्यो। आगामी ८ मार्च २०२५-को दिन आमसभा आयोजन गर्ने आजको बैठकले निर्णय लिएको छ।