- किरण कटुवाल
दार्जीलिङको लेबोङ कार्ट रोडस्थित पुरानो समाधिस्थलले दार्जीलिङ पहाडको इतिहासमा ऐतिहासिक महत्त्व बोकेको छl ब्रिटिशकालीन भारतमा दार्जीलिङलाई नयाँ आकार दिने प्रख्यात व्यक्तिहरूको समाधि यहाँ आज पनि अवस्थित छl यस समाधिस्थललाई भारतीय पुरातत्व सर्वेक्षणले प्राचीन स्मारक तथा पुरातात्विक स्थल ऐन, १९५८ अन्तर्गत राष्ट्रिय महत्त्वको स्थान घोषित गरिसकेको छ। त्यहाँ राखिएको साइनबोर्डमा लेखिएको छ, यदि कसैले यहाँका स्मारकलाई नोक्सान पुर्याए, हटाए वा दुरुपयोग गरेमा उसलाई दुई वर्षसम्मको कैद वा जरिवाना हुनसक्छ। यो स्थल दार्जीलिङ पहाडको इतिहासको जल्दोबल्दो प्रमाण होl

हिजो १ फरवरीको दिन यस समाधिस्थलमा दार्जीलिङकै केही अध्ययनशील व्यक्तिहरू र शोधार्थी विद्यार्थीहरू सफाई अभियान चलाएl सफाई अभियानका साथमा उनीहरूले सञ्चारकर्मीहरूलाई यसबारेमा जानकारी पनि दिएl दार्जीलिङको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रख्यात ब्रिटिशहरूको समाधि यहाँ बनाइएको सय वर्ष भन्दा बढी भइसकेको छl
सन् १८३५ मा सिक्किम अधिनस्थ दार्जीलिङ र खरसाङलाई इष्ट इण्डिया कम्पनीले स्वास्थ्यको लागि उपयुक्त ठाउँको रुपमा रोजेl सिक्किमका राजाले सो बेला यो क्षेत्र इष्ट इण्डिया कम्पनीलाई दिन सहमत भएl त्यस समय सम्झौता प्रमुख व्यक्ति थिए लेफ्टिनेन्ट जनरल जर्ज विलियम एल्मर लयड थिए, जसको समाधि आज पनि यही समाधिस्थलमा रहेको छ। दार्जीलिङ शहरको घडेरी बसाल्ने उनलाई मानिन्छl त्यहाँ यस समाधिस्थलमा अन्य विश्व विख्यात व्यक्तिहरूमा हंगेरीका भाषाविद अलेक्जान्डर कोसोमा डे कोरोसको समाधि पनि छन्l उनले पहिलो तिब्बती शब्दकोश तथा व्याकरण तयार गरेका थिए। सफाइ अभियानमा सहभागी स्थानीयहरू र शोधार्थीहरूले समाधिस्थानलाई उचित संरक्षणको आवश्यक रहेको बताएका छन्। यस समाधिस्थलमा धेरै जस्ता पर्यटकहरू जाने गर्छन्, अनि दार्जीलिङ ऐतिहासिक महत्त्वलाई बुझ्ने गर्छन्l