काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ। सोमबार शुभ साइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो।
उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति रहेको थियो। उहाँहरुले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो।
श्रीमद्भागवत महापुराणमा भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उहाँका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ।
वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको सुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ। त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रस्तुत गरिएको थियो।








