गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले सिक्किम र दार्जिलिङका खस समुदाय विरुद्ध सामसङ तामाङले गरेको विभाजनकारी र जातिवादी टिप्पणीको कडा शब्दमा निन्दा गरेको छ।
प्रदेश भाजपाले सामसङ तामाङको अपमानजनक र घृणित टिप्पणी यस क्षेत्रलाई परिभाषित गर्ने सामाजिक सद्भावमाथि आक्रमण रहेको ठहर गरेको छ।
प्रदेश भाजपाको मिडिया प्रभारी निरेन भण्डारीले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, ‘सिक्किमका जनता सधैं एकता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वको पक्षमा उभिएका छन्। कुनै पनि समुदाय विरुद्ध घृणा फैलाउने कुनै पनि प्रयास निन्दनीय र अस्वीकार्य छ। सिक्किमका अन्य समुदाय जस्तै खस समुदायले पनि राज्यको प्रगति र विकासमा ठूलो योगदान पुर्याएको छ। उनीहरूलाई अपमानित गर्ने कुनै पनि प्रयास सम्पूर्ण सिक्किमी समाजको अपमान हो।’
उनले सामसङ तामाङको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका नेताहरूसँग निकटता रहेको देखिएको, जुन गहिरो चिन्ताको विषय रहेको बताएका छन्। उनले सत्तारुढ दल यस विषयमा मौन बस्न सक्दैन भन्दै एसकेएमले यस्ता घृणित टिप्पणीलाई समर्थन गर्छ कि गर्दैन भनेर जनताले जान्न पाउनुपर्छ भनेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले तुरुन्तै यी टिप्पणीहरूको निन्दा गर्दै विज्ञप्ति जारी गर्नुपर्छ र जनतालाई यस्तो विभाजनकारी तत्वहरूलाई सहन गरिने छैन भन्ने आश्वासन दिनुपर्छ भनी उनले माग गरेका छन्।
उनले सामसङ तामाङ विरुद्ध कडा कानुनी कारबाहीको माग गरेका छन्। उनले सिक्किममा घृणाको राजनीतिको लागि कुनै ठाउँ छैन भन्दै कुनै पनि व्यक्ति, समूह वा राजनीतिक संगठनलाई जनतामा कलह फैलाउन अनुमति दिनु हुँदैन भनी बताएका छन्। उनले सरकार र सत्तारुढ दलबाट तत्काल र निर्णायक कारबाहीको अपेक्षा गर्दछौं भनी विज्ञप्तिमा उल्लेख गरेका छन्।