गान्तोक: सिक्किम मणिपाल अस्पतालले रोगीहरूको सुविधालाई ध्यानमा राख्दै आजदेखि केयर एक्सपर्ट एवं हस्पिटल इन्फर्मेसन सिस्टम शुरु गरेकोछ। आज अस्पतालमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपकूलपति दिलीप चन्द्र अग्रवालले केयर एक्सपर्ट एवं हस्पिटल इन्फर्मेसन सिस्टमको उदघाटन गरेका थिए। आफ्नो सम्बोधनमा उपकूलपति अग्रवालले यस प्रकारको सुविधाले राज्यका मानिसहरूलाई धेरै ठूलो सहयोग पुग्ने बताए। विशेष गरेर यसको निम्ति मानिसहरूलो एप डाउनलोड गरेर सुविधा लिनसक्ने उल्लेख गरे। यस एप्सको डाउनलोड गरेपछि रोगीहरूले घरबाट नै चिकित्सकहरूसँग एपोइन्टमेन्ट लिन सक्ने र अस्पतालमा आएर लाइनमा बस्नु पर्ने समस्याबाटमुक्त हुने बताए। यसरी नै यस एप्सको माध्यमद्वारा रोगीहरूले गरेको जाँचको रिपोर्ट वाट्सअपमा सोझै पाउन पनि सक्नेछन्। सोही प्रकारले दुर्गम क्षेत्रका रोगीहरूले आफ्नो रिपोर्ट र समस्याबारे चिकित्सकहरूलाई सोझै भीडियो कलको माध्यमद्वारा परामर्श लिन सक्ने उनको भनाइ रहेको छ। यस एप्स शुरू गर्नको निम्ति अस्पतालले ९ महिनासम्म देशको विभिन्न अस्पतालमा अध्ययन गरेपछि अन्ततः यसलाई शुरू गरिने निर्णय लिएको जानकारी गराए। यस एप्सको लाभ र हानिबारे धेरै मनन चिन्तन गरेपछि यसले प्रत्यक्षरूपमा रोगीहरूलाई लाभ पुग्न सक्ने सम्भावना देखिएपछि यसको शुरूवात गरेको उनको भनाइ रहेको छ।