खरसाङ: खरसाङमा भईरहेको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको उपाधि युनाइटेड दार्जिलिङ एफसीले जितेको छ। गत १९ जनवरीदेखि शुरु भएको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेल आज दार्जिलिङ युनाइटेड एफसी र दार्जीलिङ पुलिसमाझ सम्पन्न भएको छ। यस खेलको पहिलो हाफमा दार्जिलिङ युनाइटेडको पोष्टमा खेल शुरु भएको ३ मिनटमा सुसाइड गोल भएको थियो। त्यसको लगत्तै युनाइटेड दार्जिलिङ एफसीको तर्फबाट २८औं मिनटमा जर्सी नम्बर २ करण थापाले गोल गरेर खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफको खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफको ७७ मिनटमा युनाइटेड दार्जिलिङ एफसीको तर्फबाट जर्सी नम्बर ७ प्रवीण सुब्बाले गोल गरेर बढत बनाएका थिए। निर्धारित समयसम्म दार्जिलिङ युनाइटेडले २-१ को अन्तरले जितेर १२औं शहीद गोल्ड कपको उपाधि जित्न सफल बनेको छ।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको सहयोगमा खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको चानमारी खेल मैदानमा भईरहेको १२औं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा जम्मा १२ वटा टिमहरुलेभाग लिएका थिए। आजको विजेतालाई ट्रफीससहित नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिएको छ। आजको खेलमा म्यान अफ् द म्याच दार्जिलिङ युनाइटेडको जर्सी नम्बर ७ प्रवीण सुब्बा चयन भएका छन् भने म्यान अफ द टुर्नामेन्ट दार्जिलिङ पुलिसबाट वाङ्चुक तामाङ चयन भएका छन्। त्यसरी नै बेस्ट गोल किपर गढबाल राईफल्सको गोल किपर बिनय सरकार चयन भएका छन्। त्यसरी नै टुर्नामेन्टभरि सर्वाधिक गोलदाताको रुपमा नोर्ज्याङ लेप्चा चयन भएका छन् भने बेस्ट कोचको रुपमा केएफसीको कोच डिंकर छेत्री अनि मस्ट प्रमिसिङ टिमको रुपमा हिल फुटबल एकाडेमी खरसाङ चयन भएका छन्। यस फाइल खेलमा विशिष्ट अतिथिहरुमा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, जीटीएको युवा मामिला अनि खेलकूद विभागको एमओडी सभासद नवराज छेत्री, एमओडी सभासद श्याम शेर्पा, पूर्व फुटबल खेलाडीहरू साथै विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित रहेका थिए।

यस फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले यसपाली १२औं शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट गत १९ जनवरीदेखि शुरु भएर २ फरवरीमा फाइनल खेल सम्पन्न भएको र यसपालीको उपाधि युनाइटेड दार्जिलिङ एफसीको झोलीमा परेको बताएका छन्। उनले यसपालीको बाह्रौँ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।