बाग्राकोट: मूर्धन्य साहित्यकार नन्द हांगखिमलाई १४औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा पुरस्कृत गरिएको छ। आज पश्चिम डुवर्सको बाग्राकोटमा एक भव्य समारोहमा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले हांगखिमलाई पुरस्कारद्वारा अलङ्कृत गरेको हो। वरिष्ठ प्रगतिवादी समालोचक एवं सौन्दर्यशास्त्री डाढा . ऋषिराज बरालले हांगखिमलाई अङ्गवस्त्र ओढाएर सम्मान गरे भने वरिष्ठ साहित्यकार रत्न बान्तवाले उनलाई स्मृति-चिन्ह अर्पण गरे। प्रतिष्ठानका अध्यक्ष अशोक रोकाले नगद राशि प्रदान गरे। वरिष्ठ साहित्यकार तथा बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा मोहन पी दाहालले अध्यक्षता गरेको भव्य समारोहलाई सम्बोधन गर्दै नेपालका वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक डा ऋषिराज बरालले खस्कँदै गएको साहित्यिक स्तरमाथि टिप्पणी गरे। दशौँ वर्ष साहित्यिक साधना गरेर अनि अध्ययनबाट स्थापित हुनाको सट्टा रातारात सेलिब्रिटी बन्ने प्रवृत्तिले नेपाली साहित्यको स्तर घट्दै गएको उनले बताए। नेपाल र भारतबीचको भावनात्मक पुल भत्केको जिकिर गर्दै यस्ता कार्यक्रमले त्यसलाई पुनः जोड्ने काम गर्ने बरालले विश्वास व्यक्त गरे। खरो टिप्पणीकारका रूपमा चर्चित बरालले भने, “अहिले खोटा सिक्काको बजारका कारण असल लेखन किनारामा परेका छन्। युनिभर्सिटीका थेसिसहरू हेर्दा समेत विरक्तलाग्दो स्थिति छ। मीडियाले खोटा मोहोरालाई खाँटी मोहोरा बनाएका छन्।” नेपालमा बसेर भारतीय लेखकहरूलाई ‘प्रवासी’, ‘डायस्पोरा’ आदि भन्ने प्रवृत्तिको पनि उनले आलोचना गरे। भारतीय नेपाली समालोचना प्रभाववाद र पाठकेन्द्रित समालोचनाबाट मुक्त हुननसकेको भन्दै समालोचनामा विचार छोड़िन नहुने उनले मन्तव्य गरे। भारतीय नेपाली साहित्येतिहास लेखनप्रति आफू असन्तुष्ट रहेको पनि उनले बताए। पुरस्कार सम्बन्धमा बोल्दै उनले भने, “कलमवीरको पुरस्कार कलमयोद्धालाई प्राप्त भएको छ। योभन्दा खुशीको कुरा मलाई अरू केही लागेको छैन।”

कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित वरिष्ठ साहित्यकार रत्न बान्तवाले कला जीवनका लागि हुनुपर्नेमा जोड़ दिए। उनले बद्रीनारायण प्रधानको ऐतिहासिक विरासतलाई अझै अघि बढ़ाएर लानुपर्नेमा जोड़ दिए। देशमा आपत्काल लागेको बेला बद्रीनारायण प्रधानको ‘आमा’ उपन्यास छापिनु ऐतिहासिक घटना भएको पनि उनले बताए। पुरस्कृत सर्जक नन्द हांगखिमले आफू दिल्लीको साहित्य अकादमी पुरस्कार पाउँदा भन्दा धेरै खुशी भएको मन्तव्य गरे। अली खुलेर बोलेका हांगखिमले पौराणिक कथा, मिथक र पौराणिक काव्यहरूप्रतिको आफ्नो धारणा पनि प्रकट गरे। बद्रीनारायण प्रधानमाथि बोल्दै प्राध्यापक रेमिका थापाले डुवर्समा बद्रीनारायण प्रधानको सङ्घर्षको लिगेसी रहेको जिकिर गर्दै माल कलेजको स्थापनामा डुवर्सका युवाहरूले गरेको सङ्घर्षको उल्लेख गरिन्। बद्रीनारायण प्रधानलाई हामीले आफ्नै सीमा र मेधाभित्र मात्र बुझेको तर त्यसभन्दा महान कार्य बद्रीनारायण प्रधानले गरेर गएको उनको भनाई थियो। साहित्यकार डा. कृष्णराज घतानीले अनुवादमा बद्रीनारायण प्रधानको महानता प्रकट भएको बताए। अरूले कल्पना गर्न नसकेको समय बद्रीनारायण प्रधानले दूरगामी सोच राखेर नेपाली साहित्यको विकासमा अमूल्य योगदान दिएको उनले विचार राखे। समारोहमा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका सचिव रूपेश शर्माले नन्द हांगखिमको परिचय राखे भने वरिष्ठ अधिवक्ता अनमोल प्रसादले ‘मौली’ अंग्रेजीमा अनुवाद गर्दाका अनुभव र त्यसले गैर-नेपालीभाषी समुदायमा विस्तार गरेको प्रभावबारे अवगत गराए। डा राजीव विश्व, अबीर खालिङ, निर्मल सिञ्चुरी र हेमन्त काफ्लेले कविता वाचन गरे। कार्यक्रममा वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडा, वरिष्ठ साहित्यकार गोपालसिंह विश्व, वरिष्ठ समाजसेवी जेठा सुब्बा, प्रतिष्ठानका अध्यक्ष अशोक रोका पनि मञ्चासीन थिए। कार्यक्रममा नारायण काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए। प्रतिनिधि साहित्यकार तथा साहित्यानुरागीहरूको लोभलाग्दो जमघट भएको यस समारोहमा दार्जीलिङ, सिक्किम, सिलगढी, कालेबुङ, खरसाङ, दार्जीलिङ, डुवर्स र नेपालका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।