खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा भईरहेको खरसाङ माघे मेला उत्सवको अन्तिम दिन ‘उत्तरदायी र दिगो पर्यटनमार्फत् जिवीकोपार्जनलाई सशक्त बनाउने’ विषयमा सेमिनारको आयोजना गरिएको छ। उक्त सेमीनारमा ग्रामीण पर्यटन व्यवसायमा प्रसिद्ध पर्यटन व्यवसायीहरु र शोध वक्ताहरु उपस्थित रहेका थिए। यस सेमिनारमा पर्यटन व्यवसायी एंव समाजसेवी बिक्रम राई, ट्राभल राईटर एंव ग्रामीण पर्यटनका प्रशिक्षक अश्विनी तामाङ, राज पराजुली, प्रेक्षा शर्मा र प्राध्यापक प्रज्वल प्रधान आदि उपस्थित रहेका थिए। यस सेमिनारमा मध्यस्थताकारीको रुपमा सेमिनारको संयोजक जितु गिरी उपस्थित रहेका थिए। वक्ताहरुले ग्रामीण पर्यटन र यसलाई जीविकोपार्जनको सशक्त माध्यम बनाउन उत्तरदायी र दिगो पर्यटनको लागि के के गर्नुपर्छ भन्ने विषयमा सचेतना गराउँदै वक्तव्य राखेका थिए। यस सेमिनारमा शोध वक्ताको रुपमा अश्विनी तामाङले पर्यटन क्षेत्र वर्तमान समयमा कतातिर गईरहेको छ भन्दै यसतर्फ ध्यान दिएर सठीक रुपमा पर्यटन व्यवसाय गरिनु पर्ने विषयमा जोड दिएका थिए। यस क्रममा अर्का वक्ता प्रेक्षा शर्माले पर्यटन व्यवसाय सबैले मिलेर स्वास्थ्य तरिकाले गरिनु आवश्यक रहेको बताउँदै पर्यटनलाई बढावा दिनलाई वेस्ट म्यानेजमेन्ट पनि आवश्यक रहेको बताएका छन् उनले पर्यटनमा आफ्नो बिजिनेस साथै आफ्नो क्षेत्रलाई पनि प्रमोट गर्नु पर्ने साथै आफ्नो संस्कार, संस्कृति र आफ्नो क्षेत्रमा रहेका प्राकृतिक संसाधनहरूलाई पनि सुरक्षा गर्नु पर्ने कुरामा जोड दिएकी छन्। अर्को वक्ताको रुपमा राज पराजुलीले पर्यटनमा हालमा निक्कै अनुप्रवेस हुँदैछ भनी सचेतना गराउँदै आफ्नै क्षेत्रलाई अघि लगाएर आय आर्जन गर्न सकिने बताएका छन्। उनले पर्यटनमा आर्थिक पक्ष बलियो बनाउन सकिने बताउँदै पर्यटन व्यवसाय गरेर सरकारी नोकरीभन्दा राम्रो आय आर्जन गर्न सकिने बताएका छन्। वक्तव्यको क्रममा प्राध्यापक प्रज्वल प्रधानले होम स्टे र ग्रामीण पर्यटन सबैले मिलेर सामुहिक रुपमा गर्नु पर्ने सुझाव दिन्दै हामीले आफ्नो क्षेत्रमा धार्मिक पर्यटन र ऐतिहासिक स्थलहरुलाई अघि लाएर पर्यटन व्यवसाय सजिलैसँग गर्न सकिने बताएका छन्। प्रधानले पर्यटन व्यवसाय गर्दा मानव निर्मित र प्राकृतिक संसाधनहरूलाई प्रयोग गरेर राम्रोसित पर्यटन व्यवसाय गर्न सकिने बताउँदै कतिपय सुझावहरु पनि राखेका छन्। वक्तव्यको क्रममा पर्यटन व्यवसायी एंव समाजसेवी बिक्रम राईले अहिलेको समयमा पर्यटन विषयमा युवाहरुलाई लिएर एक हप्तासम्मको सेमिनार आयोजना गर्न आवश्यक रहेको बताएका छन्। उनले पहिला पहिला दार्जिलिङ पहाडमा पर्यटकहरु बाहिरबाट धेरै आउने गर्दथे तर अहिले कोलकोतामाथि मात्र भर पर्नु पर्दछ र यसमाथि काम गर्न आवश्यक रहेको बताएका छन्। राईले ग्रामीण पर्यटन व्यवसायमा विभिन्न कुराहरु चाहिने भन्दै यसको लागि सरकार र प्रशासनको तर्फबाट पनि सहयोग चाहिने बताएका छन्।यस सेमिनारमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले सम्बोधन गर्दै पर्यटनलाई लिएर खरसाङ खण्ड पञ्चायत समितिले भविष्यमा १४ वटै ग्राम पञ्चायतहरुमा सेमिनारहरु र सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको बताएकी छन्। उनले आजको सेमिनारमा उपस्थित शोध वक्ताहरुलाई धन्यवाद पनि दिएकी छन्।यस क्रममा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले पनि आफ्नो सम्बोधनमा यस्तो प्रकारका सेमीनारहरु नितान्त आवश्यक रहेको बताउँदै पर्यटन व्यवसायको लागि खरसाङ क्षेत्रमा आफ्नो तर्फबाट साथै सरकार र प्रशासनको तर्फबाट सहयोग गर्न तयार रहेको बताएका छन्। उनले पर्यटनसित सम्बन्धित कुराहरुका लागि कार्यालयमा आएर भेटघाट गर्न सक्ने पनि आश्वासन दिएका छन्।

यस सेमिनारमा खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति नारायण थापा, विभिन्न विकास बोर्डहरुका चेयरम्यानहरु लगायत खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्षहरु, सदस्य सदस्याहरु र विभिन्न ग्राम पञ्चायतहरुका पञ्चायत प्रधान, उप प्रधान र सदस्य सदस्याहरु साथै ग्रामीण पर्यटनसित सम्बन्धित व्यक्तित्वहरु पनि उपस्थित रहेका थिए। यस सेमिनार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पर्यटन क्षेत्रका व्यक्तित्व जितु गिरीले खरसाङको दुधे क्षेत्रमा ग्रामीण पर्यटनको प्रशस्त सम्भावनाहरू रहेको बताउँदै दुधे क्षेत्र पर्यटनमा मिनी पोखरा जस्तै रहेको पनि बताएका छन्। उनले आजको सेमिनार एकदमै सफल रहेको र यस्ता सेमिनारहरु नितान्त आवश्यक रहेको पनि बताएका छन्।