खरसाङ पञ्चायत समितिको आयोजनामा आयोजित तीन दिवसीय खरसाङ माघे मेला उत्सवको सफलतापूर्वक समापन

IMG-20250202-WA0292

खरसाङ: खरसाङ पञ्चायत समितिको आयोजनामा खरसाङको दुधेस्थित डम्फेटारमा आयोजित तीन दिवसीय खरसाङ माघे मेला उत्सवको समापन भएको छ।‌ माघे मेला उत्सवको तेस्रो तथा अन्तिम दिन भोइस अफ् खरसाङको‌ विजेता, उप विजेता र अन्यहरुलाई पारितोषिक वितरण गरिएको छ। त्यसरी नै अन्तिम दिनको मुख्य आकर्षणको रुपमा खरसाङ गोर्खा सुन्दर र सुन्दरी रहेको थियो।‌ यसमा धेरैजनाले भाग लिएका‌ थिए।‌ गत ३१ जनवरीदेखि दूधेको डम्फेटारमा आयोजित तीन दिवसीय खरसाङ माघे मेला उत्सवको अन्तिम दिन १४ वटै ग्राम पञ्चायतहरुका कलाकारहरुले सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।‌ विशेष गरेर खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट विभिन्न ग्राम पञ्चायतहरुमा रहेका युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्नु साथै ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्नु साथै जातीय संस्कृति र परम्परालाई संरक्षण गर्नलाई आयोजना गरिएको थियो। पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहान उपस्थित रहेका थिए।‌ उनको बाहुलीबाट नै तीन दिवसीय मेलाको उदघाटन गरिएको थियो भने उनको बाहुलीबाट नै खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुले राखेका विभिन्न स्टलहरुको उदघाटन पनि गरेका थिए। पहिलो र दोस्रो दिनको मुख्य आकर्षणको रुपमा भोइस अफ् खरसाङ ग्रामीण रहेको थियो। यसको साथै हट एयर बलुन, जिप लाइन, फोटोग्राफी, जातीय खानपान र कला प्रदर्शन रहेको थियो।‌ तीन दिन नै खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुका कलाकारहरुले सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।‌ पहिलो दिन स्थानीय कलाकारहरुलाई लिएर सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने दोस्रो दिनको कार्यक्रममा सिक्किमकी जेत्सेन डोना लामा र नेपालका कालीप्रसाद बाँस्कोटाको सांगीतिक प्रस्तुति रहेको थियो। ‌माघे मेलाको तेस्रो तथा अन्तिम दिन ‘उत्तरदायी र दिगो पर्यटनमार्फत् जिवीकोपार्जनलाई सशक्त बनाउने’ विषयमा सेमिनारको आयोजना पनि गरिएको थियो। तेस्रो दिनको कार्यक्रममा पश्चिम बंगाल सांस्कृतिक विकास बोर्डहरुबाट चेयरम्यानहरु उपस्थित रहेका थिए।‌ खरसाङको दुधेस्थित डम्फेटारमा आयोजित तीन दिवसीय खरसाङ माघे मेला उत्सवको सफलता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुका युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्नु साथै युवाहरु कलाकारहरुलाई हौसला प्रदान गर्नु आयोजना गरिएको जनाएकी छन्।

उनले यो केवल नाँच्ने र गाउने मेला मात्रै नभएर युवा प्रतिभाहरुलाई लिएर आयोजना गरिएको तीन दिवसीय ग्रामीण उत्सव रहेको बताएकी छन्। उनले यो तीन दिवसीय मेला दुधेको डम्फेटारमा आयोजना गरिनुको मुख्य उद्देश्य यस क्षेत्रलाई ग्रामीण पर्यटनमा अघि बढाएर लानु र यस क्षेत्रका स्थानीयहरुलाई समेटेर कार्यक्रम आयोजना गरिएको बताएकी छन्। सभापति अनु छेत्री प्रधानले यो तीन दिवसीय माघे मेला उत्सव सफलतापूर्वक समापन भएको दावी गरेकी छन्। उनले यो तीन दिवसीय कार्यक्रमबाहेक पनि अब विभिन्न ग्राम पञ्चायतहरुमा गएर पनि कार्यक्रम आयोजना गरिने बताएकी छन्‌। उनले तीन दिवसीय खरसाङ माघे मेला उत्सवमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement