विकसित भारत बजेट २०२५-२६ ले १४० करोड भारतीयको आकाङ्क्षा पूरा गर्नेछ: प्रधानमन्त्री मोदी
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय बजेटमाथि आफ्नो टिप्पणी भिडियो सन्देशको माध्यमद्वारा प्रस्तुत गरेका छन्। भारतको विकास यात्रामा आजको दिन महत्त्वपूर्ण कोशेढुङ्गा रहेको उल्लेख गर्दै यस बजेटले १४० करोड भारतीयको आकाङ्क्षा प्रतिबिम्बित गर्दै प्रत्येक नागरिकको सपना साकार बनाउने उल्लेख गरे। युवाहरूका लागि कैयौं क्षेत्र खोलिएको र आम नागरिकले विकसित भारतको मिशनलाई अघि बढाउने उनले प्रकाश पारे। यो बजेट शक्तिगुणक रहेको उल्लेख गर्दै यसले बचत, निवेश, खपत तथा वृद्धिलाई बढावा दिने कुरामाथि प्रधानमन्त्रीले बल दिए। जनमुखी बजेटका लागि उनले केन्द्रीय वित्त एवं करपोरेट कार्यमन्त्री श्रीमती निर्मला सीतारमण अनि उनको टोलीलाई बधाई दिए।
प्रधानमन्त्रीले विशेष रूपमा सरकारको खजाना भर्नमाथि बजेटले विशेष ध्यान केन्द्रित गरेको उल्लेख गरे। तथापि, यस बजेटले नागरिकहरूको गोजी भर्न, बचत बढाउन र उनीहरूलाई देशको विकासमा साझेदार बनाउनमाथि पनि ध्यान केन्द्रित गरेको उल्लेख गरे। यस बजेटले यिनै लक्ष्यहरूका लागि आधारशिला राखेको कुरामाथि उनले जोड दिए। “सुधारको दिशामा यस बजेटमा उल्लेखनीय कदम चालिएको छ” भन्दै प्रधानमन्त्री मोदीले परमाणु ऊर्जामा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ऐतिहासिक निर्णय प्रकाश पारे। नागरिक परमाणु ऊर्जाले भविष्यमा देशको विकासमा उल्लेखनीय योगदान सुनिश्चित गर्ने उनले बताए। बजेटमा रोजगारका सबै क्षेत्रलाई प्राथमिकता दिइएको उनले उजागर गरे। आगामी दिनहरूमा उल्लेखनीय परिवर्तन ल्याउने दुई प्रमुख सुधारमाथि इङ्गित गर्दै जहाज निर्माणलाई पूर्वाधारको दर्जा प्रदान गर्नुले भारतमा विशाल जहाज निर्माणलाई प्रोत्साहित गर्दै आत्मनिर्भर भारत अभियानलाई गति प्रदान गर्ने र ५० वटा पर्यटन गन्तव्यका होटलहरूलाई पूर्वाधारको श्रेणीमा सामेल गर्नुले पर्यटनलाई बढावा दिनका साथै सबैभन्दा व्यापक रोजगार प्रदान गर्ने क्षेत्रका रूपमा आतिथ्य क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने प्रधानमन्त्रीले उल्लेख गरे। देशले “विकास पनि विरासत पनि” मन्त्रका साथ प्रगति गरिरहेको प्रधानमन्त्रीले बताए। यसका साथै ज्ञान भारतम मिशनको शुरुवातका साथ एक करोड पाण्डुलिपि संरक्षण गर्न बजेटमा महत्त्वपूर्ण कदम चालिएको उनले बताए। यसका अतिरिक्त, भारतीय ज्ञान परम्पराबाट प्रेरित हुँदै राष्ट्रिय डिजिटल भण्डार स्थापित गरिने उनले उल्लेख गरे।
बजेटमा कृषकहरूका लागि गरिएको घोषणाले कृषि क्षेत्रका साथै सम्पूर्ण ग्रामीण अर्थनीतिको निम्ति नयाँ क्रान्तिको जग राख्ने उल्लेख गर्दै पीएम धन-धान्य योजना अन्तर्गत १०० जिल्लामा सिञ्चाई तथा पूर्वाधार विकास कार्य गरिने प्रधानमन्त्रीले उजागर गरे। यसका साथै किसान क्रेडिट कार्डको सीमालाई रु० ३ लाखबाट बढाएर रु० ५ लाख बनाउनुले कृषकहरूलाई बढी सहायता प्राप्त हुने उनले उल्लेख गरे। बजेटमा रु० १२ लाखसम्मको आयमाथि आयकर छूट प्रदान गर्ने विषयबारे प्रकाश पार्दै प्रधानमन्त्रीले करमा कटौती सबै आय समूहका लागि गरिएको हुँदा यसबाट मध्यम वर्गका साथमा नवनियुक्तहरू धेरै लाभान्वित हुने बताए। “उद्यमिता, एमएसएमई तथा लघु कारोबारलाई सुदृढता प्रदान गर्न विनिर्माणमाथि ३६० डिग्रीको ध्यान केन्द्रित गरिएको छ, जसले नयाँ रोजगार अवसर सिर्जना गर्नेछ”, प्रधानमन्त्रीले बताए। राष्ट्रिय विनिर्माण मिशन अन्तर्गत क्लीनटेक, लेदर, फूटवेयर तथा खेलौना उद्योगले विशेष सहयोग प्राप्त गर्ने कुरा उनले प्रकाश पारे। यसको उद्देश्य भारतीय उत्पाद वैश्विक बजारमा स्थापित हुने सुनिश्चित गर्नुरहेको कुरामाथि उनले बल दिए।
राज्यहरूमा जीवन्त अनि प्रतिस्पर्धी निवेश वातावरण सिर्जना गर्नमाथि बजेटमा विशेष जोड दिइएको कुरा रेखाङ्कित गर्दै पीएम मोदीले एमएसएमई र स्टार्टअप्सका लागि ऋण प्रत्याभूति दोब्बर बनाउने घोषणा पनि उजागर गरे। अनुसूचित जाति, अनुसूचित जनजाति प्रथमपटकका महिला उद्यमीहरूका लागि रु० २ करोडसम्मको धरौटीबिनाको ऋण प्रदान गर्ने योजनाबारे पनि उनले उल्लेख गरे। ई-श्रम पोर्टलमा प्रथमपटक पञ्जिकरणका साथ स्वास्थ्य स्याहार लगायत अन्य सामाजिक सुरक्षा योजनाको लाभका लागि स्वतन्त्र रूपमा काम गर्ने श्रमिकहरूका लागि महत्त्वपूर्ण घोषणाबारे पनि उनले सूचित गरे। यसले श्रमको सम्मानप्रति सरकारको प्रतिबद्धता दर्शाउने प्रधानमन्त्रीले उल्लेख गरे। जनविश्वास २.० जस्ता नियामक एवं वित्तीय सुधारले न्यूनतम सरकार तथा विश्वास आधारित शासनप्रति हाम्रो प्रतिबद्धता बढाउने उनले आलोकित गरे। आफ्नो सम्बोधनलाई अन्त्य गर्दै यस बजेटले देशको वर्तमान आवश्यकतालाई मात्र सम्बोधित नगरेर भविष्यका लागि तयारी गर्न पनि सहयोग गर्ने प्रधानमन्त्रीले उल्लेख गरे। डीपटेक फण्ड, जियोस्पेसियल मिशन तथा परमाणु ऊर्जा मिशन लगायतका स्टार्टअप्सहरूका लागि पहलबारे उनले प्रकाश पारे। यस ऐतिहासिक बजेटका लागि उनले सम्पूर्ण नागरिकलाई बधाई दिए। -पीआईबी