खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा भईरहेको खरसाङ माघे मेला उत्सवको दोस्रो दिन विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु सम्पन्न भएको छ। शुक्रबारदेखि तीन दिवसीय खरसाङ माघे मेला उत्सवको दोस्रो दिन खरसाङ खण्ड अन्तर्गत १४ वटै ग्राम पञ्चायतहरुका कलाकारहरुले सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। यस क्रममा गीत, नृत्य लगायत अन्य कार्यक्रमहरु प्रस्तुत गरेका थिए। खरसाङ माघे मेला उत्सवको दोस्रो दिन मुख्य आकर्षणको रुपमा भोइस अफ् खरसाङ ग्रामीणको ग्राण्ड फिनाले रहेको थियो। उक्त भोइस अफ् खरसाङ ग्रामीणको विजेता सन्त मेरिज ग्राम तीनको अदिप बीके बनेका छन्। खरसाङ माघे मेला उत्सवको दोस्रो दिन मुख्य सांगीतिक प्रस्तुतिको रुपमा सारेगमापा लिटल च्याम्पकी विजेता सिक्किमकी जेत्सेन डोना लामा र नेपालका कलाकार कालीप्रसाद बाँस्कोटाको प्रस्तुति रहेको थियो। खरसाङ खण्ड अन्तर्गत दुधेको डम्फेटारमा आयोजित तीन दिवसीय खरसाङ माघे मेला उत्सव आईतबारसम्म चल्ने भएको छ।