खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा भईरहेको भोइस अफ् खरसाङ ग्रामीणको विजेता अदिप बीके बनेका छन्। उनी खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत निवासी रहेको जानकारी प्राप्त भएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुमा रहेका युवा प्रतिभाहरुलाई लिएर आयोजना गरिएको भोइस अफ् खरसाङ ग्रामीणको गत २३ जनवरीमा अडिशन सम्पन्न भएको थियो जसमा ४० जना प्रतियोगीहरुबाट १७ जना चयन गरिएको थियो। उक्त १७ जनाले हिजो खरसाङ माघे मेला उत्सवको पहिलो दिन बागिना सांगीतिक टोलीको साथमा लाइभ प्रस्तुति दिएका थिए। हिजो १७ जनाबाट ५ जना फाइनलको लागि चयन भएका थिए र आज माघे मेला उत्सवको दोस्रो दिन आज ५ जना फाइनलिसमटहरुले बागिना सांगीतिक टोलीको साथमा लाइभ प्रस्तुति दिएका थिए। ती ५ जना प्रतियोगीहरुमा अदिप बीके प्रथम बनेर भोइस अफ् खरसाङको विजेता बनेका छन्। त्यसरी नै दोस्रो सुजता लामगादे, तेस्रो योगेस राई, चौथो एडवीन भुजेल र पाँचौं शाहिद राई बनेका छन्। यस भोइस अफ् खरसाङमा प्रथम हुनेलाई १५ हजार नगदसहित जीटीए आईडलको लागि खरसाङ महकुमामा सोझै प्रवेश दिइने भएको छ। त्यसरी नै दोस्रो हुनेलाई १० हजार र तेस्रोलाई ५ हजार रुपियाँ प्रदान गरिएको छ।
खरसाङ पञ्चायत समितिको आयोजनामा आयोजित खरसाङ माघे मेला उत्सवको अवसरमा नै भोइस अफ् खरसाङ पनि आयोजना गरिएको छ। खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा ग्रामीण क्षेत्रका युवा प्रतिभाहरुलाई प्रोत्साहन दिनलाई साथै मञ्च प्रदान गर्नलाई आयोजित भोइस अफ् खरसाङ आयोजना गरिएको बताइएको छ। भोइस अफ् खरसाङ ग्रामीण क्षेत्रका प्रतियोगितामा निर्णायकको रुपमा संगीतकार रामकुमार छेत्री, गायक कर्म मोक्तान, गायिका सुरक्षा सेञ्चुरी, संगीतकार आनन्द विश्वकर्म र गायक शेरा थामी उपस्थित रहेका थिए। खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा दुधेको डम्फेटारमा आयोजित खरसाङ माघे मेला उत्सवको पहिलो दिन सेमी फाइनल र दोस्रो दिन फाइनल राउण्ड आयोजना गरिएको थियो। यस भोइस अफ् खरसाङ ग्रामीणको विजेता र उप विजेताहरुलाई खरसाङ माघे मेला उत्सवको अन्तिम दिन पुरस्कारहरु प्रदान गरिने भएको छ। यस भोइस अफ् खरसाङ ग्रामीण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै कार्यक्रमको एकजना सञ्चालक साथै सिटोङ दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान समीर कार्कीले खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुमा रहेका युवा प्रतिभाहरुलाई लिएर भोइस अफ् खरसाङ आयोजना गरिएको ब्र यसको विजेता सन्त मेरिज ग्राम पञ्चायत तीनको अदिप बीके बनेका जानकारी गराएका छन्।









