काठमाडौं: विभिन्न व्यवधानका बीच शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ। शुक्रबार साँझदेखि गति लिएको यो चलचित्रले शनिबार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ। शनिबार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ। यसैबीच, शनिबार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन्। हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्शारहेका छन्। शनिबार दिउसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टर: टेक टु’को माग गरे।

चलचित्रको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टु’को नारा लगाएका थिए। दर्शकबाट टेक टुको माग हुँदा कलाकारहरू उत्साहित हुँदै सेल्फी खिचे। चलचित्र हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन्। प्रदिप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको छ भने निर्देशकको व्यापक तारिफ भइरहेको छ। यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।










