सिलगढी: गत वर्षहरू झै यसपल्ट पनि राधाष्टमी धुमधामसित मनाइयो। आज भगवान कृष्णको प्रिया राधा-रानीको जन्मोत्सव सिलगढीको इस्कन मन्दिरमा हर्षोल्लासको साथमा मनाइयो। राधाष्टमीको उपलक्ष्यमा राधा कृष्णको वस्त्र वृन्दावनबाट ल्याइएको थियो। आज परम्परा अनुसार मन्दिरमा सबैभन्दा अघि राधा रानीको अभिषेक गरियो। गत दुई वर्षदेखि कोरोनाको प्रकोपले गर्दा इस्कन मन्दिरमा राधाष्टमी कार्यक्रम आयोजित गरिए तापनि भक्तहरूलाई मन्दिर परिसरमा प्रवेश गर्ने अनुमति दिएको थिएन।
तर यस वर्ष स्थिति सामान्य भएकोले सिलगढी इस्कन मन्दिरमा आज भक्तहरूको भीड जमेको थियो। सिलगढी लगायत यसको वरिपरी क्षेत्रका भक्तहरू आज धेरै संख्यामा इस्कन मन्दिरमा पुजा गर्न भेला भएका थिए। राधाष्टमीको अवसरमा सिलगढी इस्कन मन्दिरमा विभिन्न कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।











