दमक: दमकका पत्रकार अनिलदेव राई पुरस्कृत हुनुभएको छ। दमक उद्योग वाणिज्य सङ्घको ३३औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रवार राईलाई नगद र सम्मान पत्रसहित पुरस्कार प्रदान गरेको हो। उहाँलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं, सङ्घका अध्यक्ष गोपाल गुरागाईंले पुरस्कार प्रदान गर्नुभयो।
झापा, शिवसताक्षी निवासी पत्रकार राई दमकमा बसेर पत्रकारितामा क्रियाशील हुनुहुन्छ। सङ्घले वार्षिक साधारणसभाका अवसरमा दमकको उद्योग, वाणिज्यलगायतका क्षेत्रमा कलम चलाएबापत एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कारको राशि रु ११ हजार १ सय ११ रहेको छl
सभामा सङ्घका पूर्वकार्यसमिति सदस्य तथा पदाधिकारीहरू यामनाथ आचार्य, राजकुमार भट्टराई, गणेश श्रेष्ठ र धनपति बराललाई सम्मान गरिएको छ। उत्कृष्ट व्यवसायी सम्मानबाट नुतन राइस मिल्सका रूद्रप्रसाद तिम्सिना, चाम्लिङ फोटो स्टुडियोकी रामदीपा राई, श्रेष्ठ छापाखानाका गणेश श्रेष्ठ सम्मानित हुनुभएको छ।
सभामा दमक उद्योग वाणिज्य सङ्घ स्थापनाको ४६ वर्षको इतिहास समेटिएको संक्षिप्त वृत्तचित्र ‘दमक उद्योग वाणिज्य सङ्घ हिजोदेखि आजसम्म’ प्रस्तुत गरिएको थियो।









