बिर्तामोड: चौतर्फी विरोध भएपछि प्रहरी प्रशासनले झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ।
जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो। माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो। महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध शुरु भएको थियो। आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो।
त्यसैगरी आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ। हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनले भने,‘ अबदेखि जुवाजन्य कुनै पनि खेल खेलाउन अनुमति दिइने छैन।’
यसअघि प्रशासन कार्यालयको अनुमति लिएर झापामा पैसा कमाउनकै लागि लगातार हाउजी खेल खेलाइदै आएको थियो। प्रत्येक मेला महोत्सवमा हाउजीलाई विकृतिकै रुपमा खेलाइने गरिन्थ्यो। कहिलेकाहीँ मात्र नभएर बिर्तामोडको सिटी सेन्टर, अर्जुनधाराको शनिश्चरे बजारलगायतका ठाउँमा पेशाकै रुपमा हाउजी लगातार संचालन गरिएको थियो।
सरकारी बजेट पचाउन र जुवा खेलाउनकै लागि बाक्लै आयोजना गर्ने गरिएका महोत्सवमा हाउजीसंगै लक्की सिक्सजस्ता जुवाजन्य खेल पनि निर्वाध खेलाउने गरिएको थियो। यसअघिका प्रमुख जिल्ला अधिकारीहरुले पनि हाउजीमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए। तर, जनप्रतिनिधिहरुले त्यसलाई मानेका थिएनन्।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले हाउजीका कारण विभिन्न समस्या आएकाले त्यसलाई खेलाउन अनुमति दिन नहुने बताउँदै आएका थिए। बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जुवाजन्य खेलहरुमा प्रहरी प्रशासनले नै कडाई गर्नुपर्ने बताएका छन्।









