गान्तोक: सिक्किम पुलिसले आप्रवासी, मजदूरहरूको पञ्जीकरण, घर भाडामा बस्ने व्यक्तिहरूको प्रमाणीकरण आदि जस्ता विषयहरूलाई लिएर अब आफ्नो कारबाही तीव्र पार्ने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले देश लगायत राज्यको सुरक्षातिर ध्यान आकर्षित गराउॅंदै कडा निर्देशपछि पुलिस सक्रिय बनेको छ।
यस सम्बन्धमा गान्तोक जिल्लाको जिल्ला पुलिसले जिल्लाका सम्बन्धित व्यक्ति र निकायहरूलाई १० फरवरीसम्म आवश्यक औपचारिकताहरू पूरा गर्न अल्टिमेटम दिएको छ।
गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यसबारे जानकारी गराए। उनले सिक्किम अन्तरराष्ट्रिय सीमानाहरूले घेरिएको राज्य रहेको र बांग्लादेशको घटनाले स्थिति अझ संवेदनशील बनाएको बताए। यस्तो स्थितिमा सिक्किममा आप्रवासीहरू प्रमाणीकरण बिनै बसिरहेकाले राष्ट्रिय सुरक्षाको दृष्टिले पनि चिन्ताको विषय बनेको उनले बताए।
पुलिस अधीक्षक लेप्चाले हालैमा मुख्यमन्त्रीको अध्यक्षतामा बसेको एक उच्चस्तरीय बैठकमा आप्रवासीहरूको प्रमाणीकरण प्रक्रियालाई सुदृढ़ गर्न कडा निर्देश प्राप्त भएको जानकारी गराए। उनले छिमेकी देश बांग्लादेशमा अहिले जुन स्थिति उत्पन्न भएको छ, त्यसले सिक्किम आतङ्कवादीहरू लुक्ने सुरक्षित ठाउॅं बन्न सक्ने सभावना व्यक्त गरे। उनले आतङ्कवादीहरू ‘स्लीपर सेल’ तयार गर्न सिक्किम प्रवेश गर्न सक्ने बताउॅंदै सिक्किमेहरू सतर्क बन्नुपर्छ भनी बताए।
उनले आप्रवासीहरूको प्रमाणीकरण (verification of Immigrants) माथि जोड दिॅंदै राज्यमा आप्रवासीहरूको प्रमाणीकरण नभएकै कारण कोभिड र जीएलओएफको समयमा झेल्नु परेका चुनौतीहरूको बारेमा जानकारी गराए। उनले देशका अन्य ठाउॅंहरूमा अपराध गरेर सिक्किममा लुक्न आएको हुन सक्ने र यहॉं अपराध गरेर भाग्न सक्ने सम्भावना व्यक्त गर्दै मजदूरहरू, होटल, दोकान, रेस्टुरेन्ट लगायत विभिन्न प्रतिष्ठानहरूमा काम गर्ने व्यक्तिहरू र घरभाडामा बस्ने व्यक्तिहरूको प्रमाणीकरण अनिवार्य रहेको बताए। उनले अवैध आप्रवासीहरूका कारण सिक्किमको जनसांख्यिकीसमेत परिवर्तन हुन सक्ने आशंका व्यक्त गरे।
घर मालिकहरूले किरायदारहरूको जानकारी नजिकैका पुलिस थानाहरूमा गराउन, विभिन्न प्रतिष्ठानहरूमा काम गर्ने व्यक्तिहरूको श्रम विभागमा पञ्जीकरण गर्न र विभिन्न धार्मिक संस्थानहरूमा प्रवचनका लागि राज्य बाहिरबाट आउने व्यक्तिहरूको पुलिस थानाहरूमा जानकारी गराउन अनिवार्य रहेको कुरामा उनले जोड दिए। पुलिस अधीक्षक लेप्चाले यी कुराहरू सुनिश्चित गर्न पुलिसले फ्लाइङ स्क्वाड तयार गरेको जानकारी गराउॅंदै आगामी १० फरवरीदेखि आफ्नो कारबाही तीव्र गर्ने बताए। फ्लाइङ स्क्वाड ठाउॅं ठाउॅंमा गएर यी कानुनहरूको कार्यान्वयन सुनिश्चित गर्न कारबाही गर्ने उनले जानकारी गराए।