सिलगगढी: सालबारीस्थित प्रकाशन संस्था बुक-आण्टद्वारा प्रकाशित एवं डा विशाल गोलेद्वारा लिखित अङ्ग्रेजी कथा संग्रह ‘द नाइन’ गोल्डेन बुक अवार्ड २०२५ को इम्पावरिङ्ग फिक्सन श्रेणीमा पुरस्कृत भएको छ। सालबारीका वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले भनेका छन्, “बुक-आण्ट सालबारीमा प्रकाशकका रूपमा आउनु र प्रकाशनको यति छोटो अवधिमा नै आफूले प्रकाशित गरेको कृति द नाइनले गोल्डन बुक अवार्ड पाउनु सालबारीका निम्ति नै महत् उपलब्धि भएको ठान्दछु।” बुक-आण्टसँग आबद्ध अनुवादक नरेश के शाहीले भने, “भारतीय नेपालीभाषी लेखक अङ्ग्रेजी साहित्यमा पुरस्कृत हुनु सिङ्गो भारतीय नेपाली समाजकै लागि एउटा गौरवको विषय हो। डा गोलेको सफलता यस क्षेत्रका उदीयमान लेखकहरूका लागि प्रेरणाको स्रोत बनोस्, जसले चुनौतीपूर्ण, मौलिक र रुपान्तरणकारी क्षेत्रीय कथाहरू मूलधारामा लैजाने अभ्यासको प्रवर्द्धन हुन सकोस्।” बुक-आण्टको पक्षमा राजा पुनियानीले भनेका छन्, “आफ्नो डेब्यु कृतिमै राष्ट्रिय स्तरको पुरसिकार हासिल गर्नु केवल कथाकार डा गोलेको निजी उपलब्धि होइन। यो हाम्रो क्षेत्रको उपलब्धि हो। क्षेत्रीय साहित्यले कसरी मेनस्ट्रिमको लेखनसँग समान उचाईमा उभिन सक्छ भन्ने प्रमाण समेत हो।”
अमाजन बेस्टसेलर समेत रहिसकेको यो कृतिले साहित्यको शक्ति उजागर गर्दै मानवीय अनुभवलाई नयाँ दृष्टिकोणले प्रस्तुत गरेको छ। ‘द नाइन : स्टोरिज अफ एसिम्प्टोटिक लाइभ्स’ नौवटा छोटा कथाहरूको एक संकलन हो, जसले मृगौलासम्बन्धी रोगबाट प्रभावित बिरामीहरूको जीवनबाट प्रेरणा लिएको छ। चिकित्सा ज्ञान र समृद्ध कथावाचनलाई कुशलतापूर्वक संयोजन गर्दै, पुस्तकले मानव सहनशीलता, आशा, र जीवन-मरणको संघर्षका भावनात्मक पक्षहरू अन्वेषण गर्छ। नेफ्रोलोजिस्ट डा गोलेद्वारा लिखित यो कृतिले चिकित्सा र मानवताको संगमलाई दुर्लभ दृष्टिकोणमा प्रस्तुत गर्छ। गोल्डेन बुक अवार्ड प्राप्त यो पुस्तकले पाठकहरूको हृदय छोएको छ र धेरैलाई प्रेरित गरेको छ। डा विशाल गोले, सिलगढीका एक अग्रणी नेफ्रोलोजिस्टमात्र नभई एक उत्कृष्ट कथाकार पनि हुन्। मानवीय संवेदनशीलता र चिकित्सकीय अनुभवलाई कथामार्फत् जीवन्त रूपमा प्रस्तुत गर्ने उहाँको क्षमता अद्वितीय छ। आफ्नो साहित्यिक यात्रामार्फत् उनले पाठक र समीक्षकहरू दुवैको मन जित्न सफल भएका छन्, जसले गर्दा उनको पहिलो कृतिले नै प्रतिष्ठित गोल्डेन बुक अवार्ड प्राप्त गरेको छ। पहिलो संस्करणको व्यापक सफलतापछि भर्खरै द नाइनको पहिलो पुनर्मुद्रित संस्करण अमाजनमा उपलब्ध छ।