गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को प्रतिनिधित्व गर्दै लोकसभा र राज्यसभाका राजनीतिक दलका फ्लोर लिडरहरूको बैठकमा भाग लिए।
बैठकको अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले केन्द्रिय मन्त्रीहरू किरेन रिजिजु, जेपी नड्डा, अर्जुन राम मेघवाल र एल. मुरुगनको उपस्थितिमा गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
बैठकमा सांसद सुब्बाले सबै प्रमुख राजनीतिक दलहरूलाई सदन सुचारु रूपमा सञ्चालन गर्न अनुमति दिन आग्रह गरे ताकि साना दलका सदस्यहरूले प्रभावकारी रूपमा भाग लिने अवसर प्राप्त गरुन्। उनले साना राजनीतिक दलका सदस्यहरूलाई थप बोल्ने समयको बारेमा विचार गरिएकोमा संसदीय मामिला मन्त्रालयप्रति कृतज्ञता व्यक्त गरे। उनले यस्ता सदस्यहरूलाई आफ्ना चिन्ताहरू व्यक्त गर्न थप अवसरहरू प्रदान गर्न निरन्तर प्रयासहरूको आवश्यकतामा जोड दिए।
क्षेत्रीय विकासको महत्त्वलाई प्रकाश पार्दै सांसद सुब्बाले संसदीय मामिला मन्त्रीलाई उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयको लागि अनुदानको मागमा चर्चा समावेश गर्न अनुरोध गरे। उनले यी छलफलहरूमा पूर्वोत्तरका सांसदहरूलाई प्राथमिकता दिइनुपर्छ ताकि क्षेत्रको विकास मोडेलको लागि बहुमूल्य अन्तर्दृष्टि र विचारहरू योगदान गर्न सकियोस्।
यस अतिरिक्त, सांसद सुब्बाले कृत्रिम बुद्धिमत्ता (एआई) र जलवायु परिवर्तनमा विशेष छलफलको निम्ति वकालत गरे। उनले एआईसँग सम्बन्धित जोखिम र अवसरहरू, विशेष गरी शासन, अर्थतन्त्र र रोजगारी सिर्जनामा व्यापक संवादको आवश्यकतामा जोड दिए। उनले जलवायु परिवर्तनका कारण हिमालयमा हिमनदी तालहरू विस्तार हुँदा बढ्दो खतराको बारेमा पनि चिन्ता व्यक्त गरे। उनले हिमालयमा जलवायु परिवर्तनको पर्यावरणीय प्रभाव, स्थानीय समुदाय, जैवविविधता र प्रकोप तयारीमा यसको प्रभाव लगायतका विषयमा छलफलको निम्ति सदनलाई आग्रह गरे।