गान्तोक: एसकेएम विद्यार्थी प्रकोष्ठको एक विशेष पहलमा एसथ्री सिक्किम स्टुडेन्टस् स्फीयर नामक सिक्किमको पहिलो भीडियो पोडकास्ट शोको लागि तादोङ स्थित एक होटलमा अडिसन सम्पन्न हुने भएको छ। विद्यार्थीहरूद्वारा होस्ट गरिने उक्त कार्यक्रमको थीम भोईसेस अफ टुमरो स्टोरिज अफ टुडे रहेको छ। समाजमा भएका विविध समस्या र मुद्दाहरूमा जागरूकता ल्याउने र विशेष गरी राज्य र राष्ट्रको लागि दीर्घकालीन रूपमा सकारात्मक प्रभाव ल्याउन सहयोग पुऱ्याउने एक उर्वर आधार निर्माण गर्ने पहल हो। यो कार्यक्रमले विद्यार्थी र युवाहरूलाई सशक्त बनाउने आयोजक समितिले आशा व्यक्त गरेको छ। पोडकास्टमा अध्ययन सुझावहरू, क्यारियर सल्लाह र मानसिक कल्याणमाथि छलफलहरू समावेश हुनेछन्। जसले विद्यार्थीहरूलाई उनीहरूको भविष्यबारेमा निर्णय लिन सहयोग पुग्नेछ। विभिन्न क्षेत्रका विशेषज्ञहरूलाई आमन्त्रण गरेर छात्रवृत्ति अवसरहरू, क्षमता विकास कार्यक्रमहरू र वैकल्पिक क्यारियर मार्गहरूमा कार्यक्रमले सहयोग प्रदान गर्ने बताइएको छ। यो पोडकास्टले शैक्षिक सुधार, रोजगारीको प्रवृत्ति र क्यारियर क्षेत्रहरूमा लक्षित पार्न सक्ने शिक्षकहरू र सरकारी अधिकारीहरूसँग कुराकानी गर्ने उल्लेख गरिएको छ। पोडकास्टले विद्यार्थीहरूलाई आफ्ना अनुभवहरू साझा गर्ने अवसर प्रदान गर्नेछ। प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चाले बताएअनुसार भोलि हुने अडिसनलाई लिएर विध्यार्थी प्रकोष्ठको एक बैठक सम्पन्न भयो। बैठकमा विध्यार्थी प्रकोष्ठकी उपाध्याक्ष भीम कुमारी शर्मा, महासचिव रिवाज छेत्री, सचिव तीर्थ शर्मा,एसकेएम पार्टी प्रवक्ता एवं विध्यार्थी प्रकोष्ठका संगठन सचिवद्वय सञ्जय दिलपाली राई लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले लोगो प्रतियोगिताको विजेताहरुको नामलाई अन्तिम रुप दिनेछ। यस प्रतियोगिताका लागि निर्णायकहरू तीर्थ शर्मा, कविता सापकोटा तथा थुप्देन रिञ्जिङ भोटिया, पाल्साङ तामाङ र रिन्जिङ तामाङ रहनेछन्।