गान्तोक: भव्य कलशयात्रासँगै आजदेखि गान्तोकको पाँच माइलस्थित सरस्वती डोल्मा मन्दिरमा नौ दिवसीय सङ्गीतमय श्रीमदभागवत महापुराण महायज्ञ आरम्भ भएको छ। महापुराणको पहिलो दिन क्षेत्र विधायक तथा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलको बाहुलीबाट मन्दिरको नवनिर्मित सत्सङ्गकक्षको उद्घाटन गरिनुको साथै मन्त्री उरुण कुमार उप्रेतीको बाहुलीबाट मन्दिरमा स्थापित १०६ केजी वजनको घण्टीको विधिवत लोकार्पण पनि गरियो। यस अवसरमा दुवै मन्त्रीले मन्दिरमा पूजा गर्नुको साथै महापुराणमा पनि सहभागिता जनाए। यस अघि आज बिहान 6 माइलस्ति दुर्गा मन्दिरदेखि सरस्वती डोल्मा मन्दिरसम्म कलश शोभायात्रा आयोजना गरिएको थियो जसमा धेरै सङ्ख्यामा श्रद्धालुले सहभागिता जनाएका थिए।
सरस्वती डोल्मा मन्दिर सञ्चालन समितिका महासचिव सागर निरौलाकाअनुसार आगामी नौ दिनसम्म मन्दिरको आज उद्घाटन गरिएको सत्सङ्गकक्षमा विविधि आध्यात्मिक कार्यक्रमको साथमा सङ्गीतमय श्रीमदभागवत महापुराण सम्पन्न हुनेछ।