मुम्बई: महेश बाबु र निर्देशक एसएस राजामौलीको एसएसएमबी२९ हाल सबैभन्दा प्रतिक्षित प्रोजेक्टहरूमध्ये एक हो, जसमा अहिले काम भइरहेको छ। यस प्रोजेक्टमा प्रियंका चोपडाको नाम जोडिएपछि उत्साह झन् बढेको छ। यद्यपि निर्माताहरूले अहिलेसम्म औपचारिक रूपमा प्रियंकाको नाम घोषणा गरेका छैनन्, तर यो ठूलो बजेटको फिल्मका लागि उनले लिने पारिश्रमिकबारे अडकलबाजी शुरु भइसकेको छ। एउटा रिपोर्टअनुसार, प्रियंकाले यस फिल्ममा आफ्नो भूमिकाका लागि करोडौँ पारिश्रमिक लिएकी छिन्। निर्मातासँग धेरै चरणको छलफलपछि उनले अन्ततः फिल्म गर्न सहमति जनाएकी हुन्।
बोलीवूड हंगामाका अनुसार, एसएसएमबी२९ प्रियंकालाई सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय अभिनेत्री बनाउनेछ। रिपोर्टअनुसार, उनले यस प्रोजेक्टका लागि ३० करोड रुपियाँ पारिश्रमिक लिएकी छिन्। यो रकम अहिले उनले लिइरहेको पारिश्रमिकभन्दा निकै धेरै भएको बताइएको छ। प्रियंका र निर्माताबीच पारिश्रमिकलाई लिएर धेरै छलफल भएको थियो। अन्ततः उनी कति पारिश्रमिक लिन सहमत भइन् भन्ने विषयमा लामो समयसम्म कुराकानी चलेको थियो। स्रोतअनुसार, “यही कारणले उनको सहभागिता घोषणा गर्न ढिलाइ भयो। उनी आफ्नो पारिश्रमिक घटाउने पक्षमा थिइनन्। आखिर किन झुक्नु? किन हाम्रा फिल्महरूमा मात्र पुरुष कलाकारहरूले दोहोरो अंकको पारिश्रमिक पाउनुपर्ने?” गत हप्ता प्रियंका भारत आएकी थिइन् र हैदराबाद गएकी थिइन्, जसले गर्दा प्रशंसकहरूले उनी एसएसएमबी२९ को हिस्सा भएको अनुमान लगाए। किनभने पहिले नै उनको नाम यस प्रोजेक्टसँग जोडिएको थियो, जसले गर्दा यो सम्भावना झन् बलियो बनेको छ। उनले चिलकुर बालाजी मन्दिरमा पूजाआजा गरिन् र राजामौलीको जंगल सेटमा आधारित “एक्शन एडभेन्चर” फिल्मसम्बन्धी पोस्टमा प्रतिक्रिया पनि जनाइन्।