दार्जिलिङ: इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक, सह संयोजकहरूलाई नियुक्ति पत्र प्रदान गरिएको छ। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय दार्जिलिङको पी कोठीमा आज पार्टीको सभा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै एनबी खवास, डीके गुरूङ, पूरण तामाङ, रोबर्ड छेत्री आदि उपस्थित रहेका थिए। आजको सभामा संयोजक अनि सह संयोजकहरूलाई नियुक्ति पत्र प्रदान गर्ने कार्य गरियो। दार्जिलिङ पहाडको विभिन्न ब्लकहरूमध्ये पूल बजार बिजनबारी ब्लक सबैभन्दा ठूलो रहेको हुनाले ६५ जना संयोजकहरु नियुक्ति गरिएको छ भने प्रमुख संयोजकको रूपमा आजको सभाले भरत तामाङलाई नियुक्ति गरिएको छ।त्यसरी नै रंगली रंगलीयाट ब्लकमा ४० जना संयोजकहरू नियुक्ति गरिएको छ भने प्रमुख संयोजकको रूपमा साम्देन लामालाई नियुक्ति गरिएको छ। त्यसरी नै जोरबंगलो सुखिया ब्लकमा 8 जना संयोजकहरू नियुक्ति गरिएको छ जसमा एसके राई, दिनेश राई, वाङचुक याल्मो, सन्नी लोप्चन, अमृत प्रधान, निश्चल राई, पुकार गहतराज, सुरज राई रहेका छन् भने ६० जना सह संयोजकहरु नियुक्ति गरिएको छ। यी संयोजकहरूलाई पार्टीको केन्द्रीय संयोजक अजय एडवाडर्स लगायत अन्य शीर्ष नेतृत्वहरूद्वारा नियुक्ति पत्र प्रदान गरियो। संयोजकहरूले पार्टीको भावी कार्यक्रम साथै संगठनलाई दह्रिलो बनाउने कुन ग्राम क्षेत्रहरूमा सरकारी कार्यहरू पुग्न सकेको छैन अनि सरकारी कार्यहरू सही रूपमा भएको छैन यी विषयहरूमाथि नजर राख्ने भएका छन्। संयोजकहरूले आ आफ्नो क्षेत्रहरूमा ग्राम समिति गठन गरेर संगठनलाई दह्रिलो बनाउने कार्यहरू गर्ने भएको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट एक राजनैतिक पार्टी भएको हुनाले पहाडको राजनैतिक विषयहरूमाथि नजर राख्नेछ। राजनीति परिवेश बिग्रिए सबै थोक बिग्रिएर जानेछ भन्दै सिस्टम बिग्रिए सबै थोक बिग्रिएर जानेछ। राजनीति परिवेश बिगार्ने, सिस्टम बिगार्ने भनेको नै राजनीति पार्टीले हो। सत्ताधारी पार्टीले सही रूपमा काम नगरे राजनीति परिवेश,स् सिस्टम बिग्रिएर जानेछ। हामीले बताउँदै आईरहेका छौं राजनीति र समाजलाई एउटा सिक्काको दुई पाटो हो भनेर। समाजमा परिवर्तन ल्याउनलाई सर्वप्रथम राजनैतिक इच्छा शक्ति हुनुपर्छ। तर आजको राजनैतिक पार्टीहरूमा हामी यी कुराहरू देख्दैनौँ। कुनै एउटा गाउँमा समाज घर निर्माण गर्नलाई राजनीति इच्छा शक्ति हुन पर्छ। मोडल स्कूलको निर्माण गर्नलाई राजनीति इच्छा शक्ति हुनुपर्छ। पहाडको स्कूलहरूको अवस्था सोचनीय बन्न पुगेको छ। सोझो रूपमा भन्नु हो भने बेहाल छ।हाई स्कूल, कलेजहरू सबैको अवस्था बेहाल छ। हाम्रो नानीहरू आज मोडल स्कूलमा किन पढ्न पाएको छैन। यो सबै आजको सत्ताधारी पार्टीको इच्छा शक्ति नहुँदा यस्तो स्थिति भएको हो भनी ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्सले आफ्नो सम्बोधनमा बताएका छन्।