खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत आठौं चरणको सांगठनिक सभा महानदीमा सम्पन्न भएको छ। महानदी बजारस्थित सार्वजनिक भवनमा सम्पन्न सभाको अध्यक्षता नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानको अध्यक्षता र समष्टिकाे प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदीको स्थानीय समाजको तर्फबाट तारानाथ शर्मा र सभाध्यक्ष निरा प्रधान आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले महानदी क्षेत्रमा भागोप्रमो पार्टीको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गरेका थिए। महानदी क्षेत्रमा रहेका विभिन्न समस्याहरु विषयमा पार्टी अध्यक्ष अनित थापालाई तीनधारे महानदी समष्टिको तर्फबाट अवगत गराउँदै रिपोर्ट बुझाउने पनि सभामा निर्णय गरिएको छ। यसै सभामा महानदी निवासी साहित्यकार असीत राईको सालिग निर्माण गरिने विषयमा महानदी र वरपरिका साहित्यकारहरुलाई लिएर एउटा सालिग निर्माण समिति बनाएर कार्य गर्ने निर्णय गरिएको छ। आजको सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत आठौं चरणको सांगठनिक सभा महानदी बुथलाई लिएर आयोजना गरिएको जानकारी गराएका छन्। उनले यस सभामा महानदी बुथमा पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा चर्चा परिचर्चा गरिएको बताएका छन्। उनले महानदी निवासी साहित्यकार असीत राईको सालिग निर्माण गर्नलाई महानदी र वरपरिका साहित्यकारहरुलाई लिएर सालिग निर्माण समिति बनाएर कार्य गरिने भएको पनि जानकारी गराएका छन्।