खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा कार्यालयको आयोजनामा राष्ट्रपिता महात्मा गान्धीको पुण्यतिथिमा प्रार्थना सभाको आयोजना गरिएको छ। उक्त प्रार्थना सभामा विभिन्न धर्मको धर्म गुरुहरु उपस्थित भएर धर्म ग्रन्थहरू पठन गरिएको थियो। उक्त कार्यक्रम खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बान दामको अध्यक्षाता र खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। महात्मा गाँधीको महाप्रयाण दिवसमा प्रार्थना सभाको आयोजना गरिएको छ। यस अवसरमा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपकले महात्मा गाँधीको सन्देश सुख शान्तिमा बस्ने थियो र त्यही कुरा आजको कार्यक्रममा हामी सबैले प्रण गर्नुपर्छ भनी बताएका छन्। कार्यक्रममा खरसाङको पूर्व विधायक डा रोहित शर्मा, डीएमडीसी लादेन लेप्चा, भूतपूर्व सैनिक संगठनको सभापति अमृत प्रधान, भूतपूर्व सैनिकको अजय तामाङ, सन्त एन्ड्रयु चर्च खरसाङको एल्डर असीम लाकपा, रामकृष्ण मिशन खरसाङ आश्रमको स्वामी सुब्रता ब्यानर्जी आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा लोक प्रसार प्रकल्पको कलाकारहरुले रामधुन र भजनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न धर्मको धर्म ग्रन्थहरू पठन गरिएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बान दामले विस्तृत रुपमा जानकारी गराएका छन्।