खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा दार्जीलिङ पुलिसले फाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा बिहीवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिसले हिल्स फूटबल एकाडमीविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट वांगचुक (धने) तामाङले ७७औं (पेनल्टी) र ६४औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल सिद्धान्त छेत्रीले ५६औं मिनटमा गरे। वांगचुक तामाङले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। अब शुक्रवार (३१ जनवरी) खेलिने दोस्रो सेमिफाइनलमा गड़वाल राइफल्स, काेलकत्ता र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच भिड़न्त हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र काेलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।